News आयोजक लिस्नु फाइनलमा
सुरज राना मगर

तिलोत्तमा । उत्कृष्ट जितका साथ आयोजक लिस्नु युवा क्लब, कोटिहवा जारी स्व. डिम बहादुर गुरुङ स्मृति २०औं लिस्नु कप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।

शनिबार सम्पन्न सेमिफाइनल भिडन्ततर्फ लिस्नुले फोर ब्रदर्श एफसी, नवलपरासीलाई ४–१ ले हराउँदै फाइनल यात्रा पक्का गरेको हो । कोटिहवा स्थित पशुपति माविको खेलमैदानमा सम्पन्न खेलको आठौं मिनटमा प्रदिप लामाको गोलबाट फोर ब्रदर्शले खेलमा अग्रता लिएको थियो ।

तर लिस्नुले खेलमा उत्कृष्ट पूनःरागमन गर्यो । २४औं मिनटमा सुशिल राईले बक्स बाहिरबाट गरेको कडा प्रहार गोलमा परिणत हुँदा खेल १–१ को बराबरीमा पुगेको थियो । लगतै फोडे फोफनाले लिस्नुका लागि सुन्दर हेडद्वारा दोस्रो गोल थपे । त्यस्तै दोस्रो हाफमा लिस्नुका हिमाल थापाले लगातार दुई गोल गर्दै घरेलु टोलीको जित पक्का गरे ।

खेलमा लिस्नुका सुशिल राई म्यान अफ द म्याच चुनिए । उनले पुरस्कार वापत नगद ३ हजार र ट्रफी हात पारे । त्यस्तै म्यान अफ द ममेन्टको पुरस्कार लिस्नु कै हिमाल थापाले हात पारे । उनले त्यसवापत आकर्षक गिफ्ट ह्याम्पर प्राप्ट गरे ।

प्रतियोगिता अन्तरगत असोज २ गते आइतबारको सेमिफाइनल खेल सञ्जिवनी युवा क्लब, देविनगर र फर्साटिकर युवा क्लब, फर्साटिकर बीच हुने खेल संयोजक नेम बहादुर गुरुङले जानकारी दिए ।

लिस्नु युवा क्लब, कोटिहवाको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद ३ लाख हात पार्नेछ भने उपविजेताले १ लाख ५० हजार प्राप्त गर्नेछ । फाइनल खेल यहि असोज ३ गतेका दिन हुनेछ ।

Post Comments