News बंगलादेश च्याम्पियन, ऐतिहासिक सफलताबाट फेरि चुक्यो नेपाल
गोलनेपाल

काठमाडौं । अघिल्लो संस्करणमा पनि उपविजेता मै सिमित बनेको आयोजक नेपालले सोमबार महिला साफमा लगातार दोस्रोपटक उपविजेता बन्दै ऐतिहासिक सफलता हात पार्नबाट चुकेको छ ।

दशरथ रंगशालामा सम्पन्न फाइनल भिडन्तमा नेपालले बंगलादेशसँग १–३ को हार बेहोर्दै उपविजेता मै चित्त बुझाउन बाध्य बनेको हो । महिला साफमा बंगलादेशको यो पहिलो उपाधि समेत हो ।

खेलको १४औं मिनट मै समसुन्नहारको गोलबाट बंगलादेशले खेलमा अग्रता लिएको थियो । ४२औं मिनटमा कृष्णा रानी सरकारले त्यो अग्रता दोब्बर पारिन् । खेलमा निरन्तर प्रयास जारी राखेको नेपालका लागि ७०औं मिनटमा अनिता बस्नेतले गोल फर्काइन् । यद्यपि त्यसको सात मिनट लगतै कृष्णाले नै व्यक्तिगत दोस्रो तथा बंगलादेशका लागि तेस्रो गोल गर्दै टोलीलाई जित दिलाईन् ।

व्यक्तिगत विधातर्फ बंगलादेश नै हावी बन्यो । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी र सर्वाधिक गोलकर्ताको पुरस्कार बंगलादेशकी सबिना खातुनले हात पारिन् । उत्कृष्ट गोलरक्षक पनि बंगलादेश कै रुपना चक्ना बन्दा फेयर प्ले पुरस्कार पनि बंगलादेशले हात पार्यो ।

Post Comments