News आयोजक लिस्नु नै च्याम्पियन
सुरज राना मगर

तिलोत्तमा । रुपन्देहीमा सम्पन्न प्रतिष्ठित स्व. डिम बहादुर गुरुङ स्मृति २०औं लिस्नु कप राष्ट्रिय फुटबल प्रतियोगिताको उपाधि आयोजक लिस्नु युवा क्लबले नै जितेको छ । सोमबार सम्पन्न फाइनल भिडन्तमा लिस्नुले साविक विजेता फर्साटिकर युवा क्लबलाई सडन डेथमा हराउँदै च्याम्पियन बनेको हो ।

त्यसअघि कोटिहवा स्थित श्री पशुपति माविको खेलमैदानमा सम्पन्न खेलमा निर्धारित समयको रोमाञ्चक खेल दुवै टोलीले २–२ गोलको बराबरी खेलेका थिए । खेलमा दुई गोलले पछि परेको स्थिति उल्टाउँदै लिस्नुले उत्कृष्ट पूनःरागमन गरेको थियो ।

खेलको पाँचौं मिनट मै सजिन थापा मगरको गोलबाट फर्साटिकरले खेलमा अग्रता लियो । १३औं मिनटमा एरोन थापाले त्यो अग्रता दोब्बर बनाए । दोस्रो गोल खाए लगतै आक्रमक बनेको लिस्नुले पेनाल्टीको अवसर पायो । ४३औं मिनटमा फोडे फोफनाले लिस्नुका लागि पेनाल्टीबाट बराबरी गोल फर्काए ।

रोमाञ्चक बनेको खेलमा फर्साटिकरका लागि आत्मघाती गोल बाधक बन्यो । ७२औं मिनटमा कमल श्रेष्ठले आत्मघाती गोल गर्दा खेल २–२ को रोमाञ्चक बराबरीमा पुगेको थियो । त्यसपछि टाईब्रेकरमा पनि नतिजा ननिस्किएपछि खेल सडन डेथमा लिस्नुले आफ्नो पक्षमा पारेको थियो ।

विजेता बनेको लिस्नुले उपाधिसहित नगद ३ लाख हात पार्यो भने उपविजेता फर्साटिकरले १ लाख ५० हजारमा चित्त बुझायो । प्रतियोगिता कै सर्वोत्कृष्ट खेलाडी लिस्नुका हिमाल थापा बने । उनले पुरस्कार वापत नगद २५ हजार र ट्रफी हात पारे । उदीयमान खेलाडी लिस्नु कै कप्तान सुमित मल्लाह चुनिए । उनले नगद १० हजार सहित ट्रफी हात पारे ।

त्यस्तै उत्कृष्ट गोलरक्षक फर्साटिकरका शुभांकर जिसी चुनिए । उनले पनि नगद १० हजार र ट्रफी प्राप्त गरे । त्यस्तै सर्वाधिक गोलकर्ताको पुरस्कार फोर ब्रदर्श एफसीका कप्तान कृपा चौधरी र सञ्जिवनी युवा क्लबका सुरज घलानले संयुक्त रुपमा प्राप्त गरे । उनीहरुले पुरस्कार वापतको १० हजार रकम ५–५ हजारका दरले हात पारे ।

विजयी खेलाडीहरुलाई समापन कार्यक्रमका प्रमुख अतिथी क्षेत्र नम्बर २, रुपन्देहीका सांसद छविलाल विश्वकर्मा, विशिष्ट अतिथी मुख्य प्रायोजक श्रीमाया गुरुङ, रुपन्देही जिल्ला फुटबल संघका अध्यक्ष लोक पुन, आयोजक क्लबका अध्यक्ष तिर्थ मल्ल, पुर्व अध्यक्ष खेमराज गुरुङ, क्लबका सचिव मनोज कुमार क्षेत्री, खेल संयोजक नेम बहादुर गुरुङ लगायतले पुरस्कृत गरेका थिए ।

प्रतियोगिता थप भव्य बनाउने योजना

समापन कार्यक्रममा सहयोगीदाता, शुभेच्छुक लगायत सबैप्रति आभार र धन्यवाद प्रकट गरेका आयोजक क्लबका अध्यक्ष तिर्थ मल्लले जिल्ला कै पहिचान बनेको लिस्नु कपलाई आगाी दिनहरुमा थप भव्य बनाउने बताए ।

जिल्ला हुँदै राष्ट्रियस्तर मै परिचित भईसकेको लिस्नु कपलाई यहाँसम्म सफलताका साथ डोर्याउने क्लबका सबै पदाधिकारी, सदस्य, खेलाडी, शुभेच्छुकहरुको निरन्तर साथ र सहयोगको अपेक्षा गरेको पनि उनले बताए ।

Post Comments