
लेटाङ । चिसाङ एफसीको आयोजनामा सम्पन्न दोस्रो चिसाङ खुला नकआउट फुटबल प्रतियोगिताको उपाधि द ब्वाइज क्लब, लेटाङले जितेको छ । सोमबार प्याप्सुल खेलमैदानमा सम्पन्न फाइनलमा द ब्वाइजले पुष्पाञ्जली एफसी, बेलबारीलाई ४-० को फराकिलो अन्तरमा पराजित गरेको हो । द ब्वाइजको जितमा म्यान अफ द म्याच विनोद राईले ह्याटि्रक गरे भने अरुण लिम्बूले थप गोल गरेका थिए ।
खेलको पहिलो हाफ प्रतिस्पर्धात्मक बनेको थियो । दुबै टोलीले राम्रा अवसरहरु सृजना गरे पनि गोल हुन नसक्दा पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो । दोस्रो हाफको अन्तिम १७ मिनेटमा द ब्वाइजको सबै चार गोल सम्भव भएको थियो । दोस्रो हाफको २३, ३२ र ४० औं मिनेटमा गोल गर्दै द ब्वाइजका विनोद राईले ह्याटि्रक पूरा गरे । यो प्रतियोगिताको एकमात्र ह्याटि्रक र सर्वाधिक गोल समेत हो । द ब्वाइजका अरुण लिम्बूले ३८ औं मिनेटमा थप गोल गरेका थिए ।
विजेता द ब्वाइजले रु ५० हजार र ट्रफी प्राप्त गर्न सफल भयो । त्यस्तै उपविजेता पुष्पाञ्जलीले रु ३० हजार र ट्रफी प्राप्त गर्ने सफल भयो । विधागत उत्कृष्ट तर्फ गोलकिपर विधामा द ब्वाइजका चरी लिम्बू, डिफेन्डर विधामा द ब्वाइजका सौलेन तामाङ, मिडफिल्डर विधामा पुष्पाञ्जलीका कोमल खवास र फरवार्ड विधामा पुष्पाञ्जलीका आनन याम्फु घोषित भए ।
चिसाङका चासुम राई उदयीमान खेलाडी घोषित हुन सफल भए । द ब्वाइजका राजु मगर प्रतियोगिताकै सर्वोत्कृष्ट खेलाडी घोषित भए । विजेता, उपविजेता तथा सम्पूर्ण विधागत उत्कृष्ट खेलाडीहरुलाई फाइनल खेलका विशिष्ट व्यक्तित्वहरुबाट पुरस्कृत गरिएको हो ।