News मुस्ताङ दोस्रो बराहक्षेत्र गोल्डकप शुरु, हाटखोलाको विजयी शुरुवात
गोलनेपाल

बराहक्षेत्र । आइतबारदेखि शुरु मुस्ताङ दोस्रो बराहक्षेत्र गोल्डकप नकआउट फुटबल प्रतियोगितामा हाटखोला एफसी, चतराले संघर्षपुर्ण जितका साथ विजयी शुरुवात गरेको छ ।

चक्रघट्टी स्थित श्री महेन्द्र माविको खेलमैदानमा सम्पन्न उद्घाटन खेलमा हाटखोलाले राजाबास युथ क्लब, राजाबासलाई सडन डेथमा ४–३ ले हराउँदै विजयी शुरुवात गरेको हो । त्यसअघि निर्धारित समयको प्रतिस्पर्धात्मक खेल दुवै टोलीले १–१ गोलको बराबरी खेलेका थिए ।

निर्धारित समयतर्फ राजावासका लागि बिनोद राईले गोल गर्दा हाटखोलका लागि आकाश राईले गोल गरेका थिए । खेलमा हाटखोलाका आकाश राई म्यान अफ द म्याच घोषित भए । उनले पुरस्कार वापत नगद २५ सय र ट्रफी हात पारे ।

यो जितसँगै हाटखोला क्वाटरफाइनलमा समेत प्रवेश गरेको छ । प्रतियोगिता अन्तरगत असोज १० गते सोमबारको खेल आयोजक कल्चरल ग्रीन क्लब र लिटल किकर्स एकेडेमी, दमक, झापाबीच हुने आयोजकले जानकारी दियो ।

त्यसअघि प्रतियोगिताको उद्घाटन एक कार्यक्रमका बीच प्रमुख अतिथी कोशी गाउँपालिकाका अध्यक्ष अयुब अन्सारीले गरेका थिए । यहि असोज १८ गतेसम्म चल्ने प्रतियोगिताको विजेताले उपाधिसहित नगद १ लाख ५० हजार हात पार्नेछ भने उपविजेताले १ लाख प्राप्त गर्नेछ ।

Post Comments