काठमाडौँ । १७ वर्षमुनिको साफ च्याम्पियनसिपमा उपविजेता भएको नेपाली टिमलाई प्राइम सेरामिक्सले सम्मान गरेको छ। बिहीबार ललितपुरमा आयोजित कार्यक्रममा प्राइम सेरामिक्सका कार्यकारी अधिकृत प्रशान्त अग्रवालले नेपाली टिमका २३ खेलाडी तथा ६ अफिसियललाई सम्मान गरे।
उमेर समूहको साफ च्याम्पियनसिप सेप्टेम्बर ५ देखि २० सम्म श्रीलंकाको कोलोम्बोमा भएको थियो। दक्षिण एसियाका ६ टिम सहभागी प्रतियोगिताको फाइनलमा नेपालले भारतसँग हार व्यहोरेको थियो। यही टिम अब भियतनाममा हुने ‘अन्डर १७ एसियन कप’ छनोटमा सहभागी हुँदैछ। प्राइम सेरामिक्सका अग्रवालले श्रीलंकामा उच्च प्रदर्शन गरेका नेपाली खेलाडीलाई सम्मान पाउँदा खुसी लागेको प्रतिक्रिया दिए।
‘यो टिमका सबै खेलाडी प्रतिभावान् देखिएका छन्। श्रीलंकामा यी खेलाडीले आफ्नो क्षमता प्रमाणित गरे। उनीहरूलाई समयमै सम्मान गर्न नपाएकोमा दुःख लागेको छ। आसा छ भियतनाममा हुने एसियन कप छनौटमा पनि नेपाली टिमको प्रदर्शन राम्रो हुनेछ। यो समग्र टिमको यात्रामा हामी पनि सँगसँगै छौँ। भियतनामबाट फकिएपछि हाम्रो भेट हुनेनै छ।’
अग्रवालले भने। अग्रवालले साफ अन्डर १७ च्याम्पियनसिपमा सहभागी खेलाडी तथा अफिसियललाई नगद पुरस्कार पाँच–पाँच हजारले सम्मान गरेका हुन्। उनले भविष्यमा नेपाली युवा टिम मात्र होइन, फुटबल नियामक संस्था अखिल नेपाल फुटबल संघ (एन्फा) सँग सहकार्य गर्न इच्छुक रहेको बताए। नेपाली टिमका मुख्य प्रशिक्षक उर्जन श्रेष्ठले कोलोम्बोमा आफ्नो टिम उपविजेता भएको भए पनि नेपालमा वास्ता नगरिएकोमा दुखेसो पोखे।
‘व्यक्तिगत वा निजी क्षेत्रबाट यी कलिला खेलाडीलाई सम्मान हुनु सकारात्मक हो। यसले समग्र टिमलाई हौसला दिनेछ। भियतनाममा हामी आफ्नो क्षमता फेरि एक पटक प्रमाणित गर्नेछौँ,’ श्रेष्ठले भने।
कार्यक्रममा उपस्थित पूर्वखेलाडी राजेश शाहीले सम्मानित युवा खेलाडीलाई सकारात्मक मनोवृत्तिका साथ खेल्न सुझाए। ‘यो टिम प्रतिभाशाली भएकोमा शंका छैन। तर प्रतिभा भएर मात्र पुग्दैन। सकारात्मक मनोवृत्तिको आवश्यकता पर्छ। आत्मविश्वास चाहिन्छ। जस्तो सुकै बलियो विपक्षी भए पनि नडराई खेल्दा नतिजा आफ्नो पक्षमा आउँछ। यसकारण यी कुरा ध्यानमा राखेर खेल्नुपर्छ,’ शाहीको भनाइ थियो।
टिमका मुख्य प्रशिक्षक उर्जन श्रेष्ठ प्रशिक्षण करियरको सुरुवाती चरणमा रहेको र खेलाडीले राम्रो खेल देखाए मात्र उनी सफल हुने शाहीको धारणा थियो। ‘उर्जन खेलाडीका रूपमा प्रमाणित भइसकेका छन्। अब प्रमाणित हुने पालो प्रशिक्षणमा हो। टिमको प्रदर्शन राम्रो भए मात्र उनी सफल ठहरिनेछन्। उनलाई सफल बनाउने खेलाडीले हो। यसकारण सबै खेलाडीले देशका लागि, आफ्नो टिमका लागि, प्रशिक्षकका लागि खेल्नुपर्छ,’ शाहीले भने।
टिमका कप्तान प्रशान्त लक्षमले सम्मानका लागि अग्रवाललाई धन्यवाद दिए। अनि श्रीलंकामा बटुलेको अनुभव भियतनाममा काम लाग्ने विश्वास व्यक्त गरे। नेपाल अन्डर १७ एसियन कप छनोटमा समूह ‘एफ’मा परेको छ। यो समूहका सबै खेल पूर्वी एसियाको भियतनाममा हुँदैछ। समूहमा नेपाल र घरेलु टिम भियतनामसँगै थाइल्यान्ड र चाइनिज ताइपेई छन्। नेपालले पहिलो खेल अक्टोबर ५ मा थाइल्यान्ड, ७ मा भियतनाम र ९ मा चाइनिज ताइपेईको सामना गर्नेछ।
- मैवाखोला गाउँपालिकालाई चौथो ताप्लेजुङ पालिका स्तरीय फुटसल कपको उपाधि
- तेस्रो भेट्रान्स फुटबल प्रतियोगिता २०८३ : विजेताले ८ लाख र उपविजेताले ५ लाख रुपैयाँ प्राप्त गर्ने
- रिपोर्टर राइनोजलाई एनएसजेएफ कपको उपाधि
- ट्वेल्भ फुटबल ट्रेनिङ सेन्टरले न्युरोडाइभर्स बालबालिका लागि विशेष फुटबल प्रशिक्षण कार्यक्रम गर्ने
- राष्ट्रिय फुटसल टिमलाई नगद पुरस्कार वितरण समारोह सम्पन्न