News एनआरएनएको फुटबल टिम विरुद्ध प्रदेश १ को उजुरी
उमेश पुन

पोखरा । बिहीबारदेखि शुरु बहुप्रतिक्षित राष्ट्रिय खेलकुदको पुरुष फुटबलतर्फ पहिलो खेल नै विवादित बन्न पुगेको छ । बिहीबार एनआरएनए र प्रदेश नम्बर १ बीचको फुटबल म्याचमा एनआरएनएको टिमले अधिकांश नेपालमै रहेका राष्ट्रियस्तरका खेलाडीहरु उतारेपछि प्रदेश नम्बर १ ले प्रतियोगिता संयोजकसमक्ष निवेदनसहित उजुरी गरेको हो ।

पत्रमा उल्लेख भएअनुसार एनआरएनए टिमबाट खेल्न सम्बन्धित खेलाडीहरु कम्तिमा पनि १८० दिन विदेशमा बसोबास गरेको हुनुपर्ने भए तापनि बिहीबार खेलेका खेलाडीहरु नेपाल मै बसोबास गरिरहेकोले प्रदेश नम्बर १ ले आपत्ती जनाएको हो ।

एनआरएनएमा रहेका अनन्त तामाङ, बिमल घर्ती मगर, सुजल श्रेष्ठ लगायतका खेलाडीहरुले हालै सम्पन्न बंगलादेश विरुद्धको मैत्रीपूर्ण खेलमा नेपालको समेत प्रतिनिधित्व गरेका थिए । निवेदनमा यी खेलाडीहरु बाहेक कुल ८ खेलाडीहरुको नाम उल्लेख छ । जसमा पुजन उपरकोटी, बिशाल राई, अशोक खवास, सन्जोक राई र निशान खड्का रहेका छन् ।

पोखराको लामाचौरमा सम्पन्न सो खेलमा एनआरएनएको टोली २–० ले विजयी भएको थियो । यद्यपि पराजित भएको प्रदेश नम्बर १ ले सो खेलको नतिजा आफ्नो पक्षमा हुनुपर्ने मागसहित उजुरीपत्र बुझाएको छ ।

 

Post Comments