News एनआरएनएबाट खेलेका खेलाडीहरुको पनि दिए जवाफ
गोलनेपाल

काठमाडौं । पोखरामा जारी नवौं राष्ट्रिय खेलकुदको पुरुष फुटबलतर्फ एनआरएनए टिममा नेपाल कै राष्ट्रिय खेलाडीहरुले खेलेपछि विवाद उत्पन्न हुँदा त्यसले खेलाडीहरुलाई पनि रुष्ट बनाएको स्पष्ट देखिएको छ ।

बिहीबार भएको पुरुष फुटबलतर्फ पहिलो खेलमा एनआरएनएले राष्ट्रिय फुटबल टोलीका सदस्यहरु अनन्त तामाङ, सुजल श्रेष्ठ, बिशाल राई, बिमल घर्ती मगर लगायतका खेलाडीहरुलाई मैदानमा उतारेपछि त्यसले विवाद उत्पन्न गराएको थियो । एनआरएनएले आफ्नो पहिलो खेलमा प्रदेश १ लाई २–० ले हराएपछि प्रदेश १ ले एनआरएनए टिम विरुद्ध उजुरीपत्र बुझाएको थियो ।

जसमा सो खेल नियमविपरित भएको भन्दै त्यो खेलको नतिजालाई आफ्नो पक्षमा दिनुपर्ने माग प्रदेश १ को फुटबल टोलीले गरेको थियो । यद्यपि अहिले आएर एनआरएनएबाट खेलेका केही खेलाडीहरुले यसबारे आफ्नो प्रतिक्रिया दिएका छन् । त्यसमध्ये अनन्त तामाङ र पुजन उपरकोटीले स्टाटस लेख्दै आफ्नो गुनासो र प्रतिक्रिया दिएका छन् ।

उनीहरुले राष्ट्रिय टोलीको जिम्मेवारी सम्हाले तापनि राष्ट्रिय खेलकुदमा खेल्न आफ्नै प्रदेशलाई पहिलो पाथमिकतामा राखेको बताएका छन् । यद्यपि सम्बन्धित पक्षले आफूहरुलाई बेवास्ता गर्दा अन्य टोलीबाट राष्ट्रिय खेलकुदमा सहभागिता जनाउन बाध्य भएको बताएका छन् । तर अन्य टोलीबाट खेल्दा पनि खेल्न नदिने षडयन्त्र हुनु दुःखद रहेको बताएका छन् ।

अनन्त र पुजनले आफ्नो सामाजिक सञ्जालमा लेखेको स्टाटसमा सम्बन्धितलाई लक्षित गरि एउटा वाक्य भनेका छन्, “प्रदेशबाट खेल्न नदिने लक्ष्यमा त सफल हुनुभयो । अब हामी समक्ष आएको एनआरएनएबाट पनि खेल्न पाउनु हुन्न भन्नुहुन्छ । यसरी फुटबल विकास कसरी हुन्छ? रााष्ट्रिय खेलाडीले राष्ट्रिय खेलकुदमा खेल्न नपाउने त होइन होला?’ उनीहरुको प्रतिप्रश्न छ ।

जगजित र रजिनको पनि समर्थन

हाल अष्ट्रेलियामा रहेर नियमित जसो फुटबल गतिविधीबारे आफ्नो स्टाटस लेख्ने र फुटबलमा व्यस्त रहने राष्ट्रिय टोलीका अर्का सदस्य जगजित श्रेष्ठले पनि एनआरएनए टिमबाट खेलेका खेलाडीहरुको पक्षमा आफ्नो प्रतिक्रिया दिएका छन् ।

जगजित लेख्छन्, “खेलाडीलाई खेल्न देउ न । धन्न त्यति खेलाडीहरु अझै नेपाल मै छन्... भएकाले पनि प्रतियोगिता पाएका छैनन् । बल्ल बल्ल भएको राष्ट्रिय खेलकुदमा पनि किन रोक टोक??’

अर्का खेलाडी रजिन धिमाल लेख्छन्, “होला । राष्ट्रिय खेलाडीले एनआरएनएबाट खेल्न हुन्न थियो होला र त्यसरी खेल्न नि मिल्दैन थियो होला । तर खेलाडी भएपछि राष्ट्रिय खेलकुदमा खेल्ने रहर कसलाई हुन्न । बल्लतल्ल आफ्नो गाउँठाउँका लागि खेल्ने अवसर आएकोमा कसले खेल्दिन भन्छ होला र? तर राष्ट्रिय टोलीमा खेलिरहँदा जिल्लाबाट नखेलेको भन्दै टोलीमै नराख्नु कतिको जायज हो ? राष्ट्रिय खेलकुदमा सहभागी हुने आशाको रुपमा एनआरएनए विकल्प थियो र खेलाडीले स्विकारे ।”

Post Comments