News आर्मी र सुदुरपश्चिमको जित
उमेश पुन

पोखरा । शुक्रबारदेखि आधिकारिक रुपमा शुरु राष्ट्रिय खेलकुदको पुरुष फुटबलतर्फ दावेदार मानिएको त्रिभुवन आर्मी फुटबल क्लब र सुदुरपश्चिम प्रदेशले विजयी शुरुवात गरेका छन् ।

समूह सी तर्फको पहिलो खेलमा आर्मीले लुम्बिनी प्रदेशमाथि ४–१ को जित निकाल्यो । लामाचौर स्थित गोस्केघाटमा भएको खेलको पाँचौं मिनटमा दिनेश हेन्जनको गोलबाट आर्मीले खेलमा अग्रता लिएको थियो । २४औं मिनटमा लुम्बिनीले आत्मघाती गोल गर्दा आर्मीले त्यो अग्रता दोब्बर बनायो ।

खेलको ४७औं मिनटमा जर्ज प्रिन्स कार्कीले आर्मीका लागि तेस्रो गोल गरे । उता ५०औं मिनटमा लुम्बिनीका लागि चेतन थारुले गोल गर्दै टोलीलाई खेलमा फर्काउने प्रयास गरे पनि सकेनन् । खेलको अन्तिमतिर नवयुग श्रेष्ठले चौथो गोल गर्दै टोलीको जित सुनिश्चित गरे ।

सुदुरपश्चिमको रोमाञ्चक जित

त्यस्तै शुक्रबार नै भएको समूह डी तर्फको खेलमा सुदुरपश्चिमले कर्णाली प्रदेशमाथि ५–३ को रोमाञ्चक जित निकाल्यो । खेलको ३८औं मिनटमा कर्णालीका करन रावतले आत्मघाती गोल गर्दा सुदुरपश्चिमले खेलमा अग्रता बनायो । ५८औं मिनटमा ज्ञानेन्द्र जोशीले सुदुरपश्चिमका लागि दोस्रो गोल गरे ।

उता ६२औं मिनटमा बिकेश सन्तोषीले कर्णालीका लागि पहिलो गोल फर्काए । यद्यपि ७७औं मिनटमा कुवेर सिंहले सुदुरपश्चिमका लागि तेस्रो गोल थपे । नाटकीय बनेको दोस्रो हाफको ८४औं मिनटमा बिकेश सन्तोषीले व्यक्तिगत दोस्रो गोल गर्दै खेललाई ३–२ को स्थितिमा ल्याए ।

यद्यपि त्यसको दुई मिनट लगतै सशांक बोहराले सुदुरपश्चिमका लागि चौथो गोल गरे भने अन्तिमतिर दिरेन्द शाहले पाँचौं गोल गरे । जुन सुदुरपश्चिमका लागि अन्तिम गोल पनि बन्यो । त्यस्तै उता अन्तिमतिरै बिकेश सन्तोषीले पेनाल्टीमार्फत कर्णालीका लागि तेस्रो गोल गर्दै ह्याट्रिक पूरा गरे पनि टोलीलाई हारबाट जोगाउन सकेनन् ।

 

Post Comments