News आर्मी सेमिफाइनलमा, गण्डकी र एनआरएनबीचको खेल रद्ध
उमेश पुन
पोखरा । नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तरगतको पुरुष फुटबल तर्फ त्रिभुवन आर्मी क्लब सेमिफाइनलमा प्रवेश गरेको छ ।
पोखरा रंगशाला स्थित फुटबल मैदानमा भएको खेलमा नेपाल पुलिस क्लबलाई २–० गोल अन्तरले पाखा लगाउँदै आर्मी अन्तिम चारमा प्रवेश गरेको हो ।
 
आर्मी समूह ‘सी’ को विजेता बन्दै सेमिफाइनल प्रवेश गरेको हो । आर्मीको जितमा नवयुग श्रेष्ठ र दिनेश हेनजन नायक बने । खेलको १५ औं मिनेटमा नवयुग श्रेष्ठले गोल गर्दै टोलीलाई अग्रता दिलाए । उनले डिएरिया भन्दा बाहिरबाट गरेको प्रहारले जालि चुमेको हो । २९ औं मिनेटमा दिनेश हेनजनले गोल गर्दै आर्मीको अग्रता दोब्बर पारे । पहिलो हाफ २–० गोलले पछि परेको पुलिसले दोस्रो हाफमा खेलमा फर्किने प्रयास गरेपनि गोल गर्न भने सकेन ।
 
जितसँग आर्मी ६ अंकका साथ शीर्षस्थानमा रहन सफल भएको हो । आर्मीले यस अघि लुम्बिनी प्रदेशलाई ४–१ गोल अन्तरले हराएको थियो ।
यस्तै २ टिममात्रै रहेको समूह ‘डी’ बाट सुदुरपश्चिम सेमिफाइनलमा प्रवेश गरेको छ । सुदुरपश्चिमले कर्णाली प्र्रदेशलाई ५–३ गोल अन्तरले हराउँदै ३ अंकका साथ शीर्षस्थानमा रहँदै अन्तिम चारमा प्रवेश गरेको हो ।
 
उता आइतबार नै समूह ‘ए’ अन्तरगत गण्डकी प्रदेश र एनआरएन बीच खेल हुने भनिएपनि प्राविधिक कारणले खेल रद्ध भएको छ । एनआरएनले स्वदेशी खेलाडीलाई नै खेलाएको भन्दै यस भएको खेलमा प्रदेश नं. १ ले ८ जना खेलाडी विरुद्ध प्रोटेस्ट दिँदै नतिजा आफ्नो पक्षमा हुनुपर्ने माग गरेको थियो । राष्ट्रिय खेलकुद परिषद्ले छानविन गर्दै नतिजा प्रदेश नं. १ को पक्षमा पारेको थियो । उक्त खेल एनआरएनले २–० ले जितेको थियो ।
 
रद्ध खेलको निर्णय गण्डकीको पक्षमा आए गण्डकी सेमिफाइनलमा प्रवेश गर्नेछ । गण्डकीले प्रदेश नं.१ लाई २–० ले हराउँदै ३ अंक जोडेको छ । प्रदेश १ को पनि ३ अंक नै रहेको छ ।
 
समूह ‘बी’ अन्तरगत बागमती प्रदेश र एपिएफभने खेल्न बाकीँ रहेको छ । दुबै टिमको समान ३÷३ अंक रहेको छ । प्रतियोगिता अन्तरगत सोमबार लिग चरणका अन्तिम खेलहरु हुनेछन् ।
Post Comments