News आयोजक सप्तकोशी सेमिफाइनलमा
गोलनेपाल

बराहक्षेत्र । आयोजक सप्तकोशी युवा क्लब, सुनसरी यहाँ जारी नवौं सप्तकोशी गोल्डकप नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।

आइतबार सम्पन्न दोस्रो क्वाटरफाइनलमा पंचायन फुटबल क्लब, बकलौरीलाई सडन डेथमा ५–४ ले हराउँदै सप्तकोशी अन्तिम चारमा प्रवेश गर्न सफल भएको हो ।

त्यसअघि श्री वसन्त ऋतु माविको खेलमैदानमा भएको निर्धारित समयको खेल दुवै टोलीले १–१ गोलको रोमाञ्चक बराबरी खेलेका थिए । खेलको २३औं मिनटमा तिर्थ बस्नेतको गोलबाट अग्रता लिएको पंचायनले त्यसलाई दोस्रो हाफमा जोगाउन सकेन । खेलको अन्तिमतिर भिम बिकले सप्तकोशीका लागि गोल गर्दै खेललाई रोमाञ्चक बराबरीमा ल्याएका थिए ।

टाईब्रेकरमा पनि नतिजा निस्किन नसक्दा खेल सडन डेथतर्फ धकेलिएको थियो । जसमा आयोजकले नतिजा आफ्नो पक्षमा पार्न सफल भयो । खेलमा सप्तकोशीका भिम बिक म्यान अफ द म्याच चुनिए । उनले पुरस्कार वापत नगद ३ हजार र ट्रफी हात पारे ।

प्रतियोगिता अन्तरगत असोज ३१ गते सोमबारको तेस्रो क्वाटरफाइनल खेल पटनाली फुटबल क्लब, धरान र सयपत्री फुटबल क्लब, सुनसरीबीच हुने आयोजकले जानकारी दियो ।

आउँदो कार्तिक ५ गतेसम्म चल्ने प्रतियोगिताको विजेताले उपाधिसहित नगद २ लाख हात पार्नेछ भने उपविजेताले १ लाख प्राप्त गर्नेछ । व्यक्तिगत विधातर्फ पनि पुरस्कारको व्यवस्था गरिएको आयोजकले जनाएको छ ।

Post Comments