News सुदिल निर्णायक बन्दा आर्मी फाइनलमा
उमेश पुन
पोखरा । नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको पुरुष फुटबलमा त्रिभुवन आर्मी फुटबल क्लब फाइनलमा प्रवेश गरेको छ । मंगलबार पोखरा रंगशालामा भएको पहिलो सेमिफाइनल खेलमा गण्डकी प्रदेशलाई १–० ले स्तब्ध पार्दै आर्मी फाइनलमा प्रवेश गरेको हो ।
 
अत्यन्तै प्रतिस्पर्धात्मक बनेको खेलमा परिवर्तित खेलाडी सुदिल राई नायक बन्दा आर्मीले जित हासिल गरेको हो । पहिलो हाफ बराबरीमा रोकिएको खेलको ५८ औं मिनेटमा सुदिलले गोल गर्दै अग्रता दिलाए । उनी २४ औं मिनेटमा कप्तान भरत खवासको स्थानमा मैदान प्रवेश गरेका थिए ।
 
आर्मीले खेलको सुरुवात देखी गण्डकीलाई दबाबमा राखेपनि पाएको अवसरको उचित सदुपयो गर्न नसक्दा १–० मै चित्त बुझाउन बाध्य भएको हो ।
आर्मी समूह ‘सी’ को विजेता बन्दै आर्मी सेमिफाइनलमा प्रवेश गरेको थियो । आर्मीले लिगचरणको पहिलो खेलमा लुम्बिनी प्रदेशलाई ४–१ ले र दोस्रो खेलमा पुलिस क्लबलाई २–० गोल अन्तरले हराएको थियो ।
 
यस्तै मंगलबार नै समूह ‘डी’ विजेता सुदुरपश्चिम र समूह ‘बी’ विजेता एपिएफबीच दोस्रो सेमिफाइनल खेल हुँदैछ । यो खेलको विजेताले बिहीबार आर्मीसँग स्वर्ण पदकका लागि फाइनलमा प्रतिस्पर्धा गर्नेछ ।
Post Comments