News नेपालले पाकिस्तानसँग खेल्ने तय, कटुवाललाई नेतृत्व
गोलनेपाल

काठमाडौं । नेपालले फिफा इन्टरनेशनल विन्डोतर्फ यहि कार्तिक ३० गतेका दिन पाकिस्तानसँग अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल म्याच खेल्ने तय भएकोे छ । यसबारे अखिल नेपाल फुटबल संघ (एन्फा) ले बुधबार नै पुष्टी समेत गरेको छ ।

यसअघि पाकिस्तानले नेपालसँगै मैत्रीपूर्ण फुटबल म्याच खेल्ने जनाए तापनि त्यसबारे एन्फाले आधिकारिक रुपमा केही प्रतिक्रिया दिएको थिए । जसका कारण नेपाल र पाकिस्तान बीच हुने भनिएको मैत्रीपूर्ण खेल अनिश्चित बन्ने संघारमा पनि थियो । तर अहिले आएर सो खेल हुने पक्का भएको छ ।

नेपाल र पाकिस्तानबीच सो मैत्रीपूर्ण काठमाडौं स्थित दशरथ रंगशालामा हुनेछ । स्मरण रहोस, फिफाको प्रतिवन्धपछि पाकिस्तानको पुरुष फुटबल टोली आठ वर्षपछि पहिलोपटक अन्तर्राष्ट्रिय फुटबलमा फर्कदैछ । त्यसका लागि पाकिस्तानले गत महिना देखि आवश्यक तयारी समेत शुरु गरिसकेको छ ।

कट्ुवाललाई प्रशिक्षकीय जिम्मेवारी

एन्फाले बुधबार नै पाकिस्तान विरुद्ध हुने मैत्रीपूर्ण म्याचका लागि नेपालको मुख्य प्रशिक्षकमा प्रवेश कटुवाललाई नियुक्त गरेको छ । एन्फा अध्यक्ष पंकज विक्रम नेम्वाङले कटुवाललाई एक कार्यक्रमका बीच बुधबार नै नियुक्तिपत्र हस्तान्तरण गरे ।

घरेलु फुटबलमा सफलतम प्रशिक्षकको छवि बनाएका कटुवालले मच्छिन्द्र फुटबल क्लबलाई लगातार लिग उपाधि जिताउन अहम भूमिका खेलेका थिए ।

स्मरण रहोस, नेपालले घरमै सम्पन्न बंगलादेश विरुद्धको मैत्रीपूर्ण म्याच खेल्दा अन्तरिम प्रशिक्षकको जिम्मेवारी प्रदिप हुमागाईंले पाएका थिए ।

Post Comments