News नेपाली फुटबलको केही मसिना कुराहरु
गोलनेपाल

कुराहरु आफैँमा सानो वा ठूलो हुँदैनन् । त्यसको आकारको निर्धारण उक्त कुरा लिनेले कसरी कुन अर्थमा लिन्छ भन्नेमा छ । यो लेखमा उल्लेख गरिएका केही बुँदागत कुराहरु पनि लिनेले कसरी लिन्छ वा बुझ्नेले कसरी बुझ्छ भन्नेमा नै निर्भर छ । पंक्तिकारको अनुभवमा भने तल उल्लेख गरिएका कुराहरु केही मसिनो आकारको हो कि भन्ने छ किनभने हामी नेपाली फुटबलको विकासको डंका पिट्ने काममा नै व्यस्त भयौँ/छौँ । यसरी डंका पिट्दै गर्दा यी कुराहरुलाई अलिक बेवास्ता ग¥यौँ कि ? हुन त नेपाली फुटबलमा यति धेरै कुराहरु छन् कि सबैलाई उल्लेख गर्न यस्ता हजारौँ लेखहरु लेख्दा पनि नसकिन सक्छ । आज केही थोरै कुराहरुबारे व्याख्या नभई छोटो रुपमा विषय उठान सम्म हो ।

के एन्फा राजनीतिले बिग्रीएको हो ?

माथिको प्रश्नको सहज उत्तर आउँछ ः हो । तपाईलाई पनि हो जस्तो लाग्छ भने यो पंक्तिकार तपाईको उत्तरसँग सहमत छैन । एन्फामा राजनीति नितान्त अत्यावश्यक कुरा हो । सिर्फ यसको भाष्यमा परिवर्तन ल्याउनु पर्छ । कुनै पनि संस्था चलाउन राजनीति अपरिहार्य छ, मात्र यति हो कि एन्फा भित्रको राजनीतिको तौरतरिका, बुझाई र गराई चाहिँ शतप्रतिशत गलत छ । सायद अधिकांश पदाधिकारीहरु नेपाली राजनीतिक पार्टीका कार्यकर्ता भएर हुन् कि ? त्यहाँको नेतृत्व व्यवस्थाको परम्परा नै त्यस्तो हो कि ? एन्फाका पदाधिकारीहरुको चेतना नै कमजोर भएर हो कि ? या हामी सबै कमजोर भएकोले एन्फा मातिएको हो कि ?

वास्तवमा नेपाली फुटबलको विकासको लागी एन्फाको राजनीति ठीक ठाउँमा आउनु पर्छ÷ल्याउनु पर्छ । स्वभावतः प्रश्न आउँछ ः एन्फाको राजनीति ठीक ठाउँमा आउला त ? यसको उत्तर सजिलो छैन तर असम्भव भने होइन । एन्फाको अहिलेसम्मको परिदृश्य हेर्दा चाँडै वा छोटो समयमा नै यसको राजनीति ठीक ठाउँमा आउँदैन । यसलाई नेपाली समाजको गलत राजनीतिले पनि उत्तिकै प्रभाव पारेको छ । जुन संस्थामा लोभलालच र स्वार्थ मात्र छ , जहाँ विवेक र नैतिकताले हावा खाएको छ , जसको मथिंगलमा प्रष्ट खाका र दृढ इच्छाशक्ति छैन त्यस भित्रको राजनीति कस्तो हुन्छ होला ? यहाँ प्रश्नै प्रश्न मात्र छन् । निसन्देहः एन्फामा अब सही राजनीति आवश्यक छ । नत्र झन् अँध्यारा दिनहरु नजिकै छन् ।

क्लबहरुको दुख

नेपाली फुटबलको व्यक्तित्वहरुलाई संचारमाध्यमले नछुटाई सोध्ने प्रश्न हो ः नेपाली फुटबलको विकास गर्न के गर्नु पर्छ ? यसमा सबैले नछुटाई दिने एउटा साझा उत्तर हो ः लिग लामो हुनु पर्छ र खेलाडीहरुले राम्रो पारिश्रमिक पाउनु पर्छ । यो उत्तर गलत हुँदै होइन । यसमा हामीले भुलेको वा उल्लेख नगरेको कुरा हो ः लामो लिग गर्न र खेलाडीले राम्रो पारिश्रमिक पाउन क्लब बलियो हुनु पर्छ । यो खास उत्तर सबैले भुले या भुल्यौँ ।

यस माथि न हाम्रो ध्यान गयो न एन्फाको नै । एन्फासँग क्लबहरुलाई व्यवसायिक बनाउन बलियो योजना छ कि छैन, उनीहरु नै जानुन् । समुदाय केन्दि«त हाम्रा क्लबहरुले पनि सोच्नु पर्छ ः कहिले सम्म चन्दा र व्यक्तिगत सहयोगहरुमा चल्ने ? रेलिगेसन टार्न पनि करोडको वरीपरी पुग्ने बजेट क्लबहरुले कसरी कुन दुखले धानीरहेका होलान् ? सायद फुटबलप्रतिको अटुट प्रेम र पागलपनले नै होला । हाम्रो क्लब भन्दै आफ्नो व्यापार–जागिरको केही अंश निरन्तररुपमा दिईरहेका र घर व्यवहार बिर्सेर आफ्नो क्लबलाई समय दिईरहेका सबैलाई नमन ।

फुटबल व्यवसायिक बनाउन क्लबलाई व्यवसायिक बनाउनु पहिलो कुरा हो । बलियो क्लबहरु नै फुटबलको भरपर्दो मेरुदण्डहरु हुन् । क्लब रहे न लिग , लिग रहे न खेलाडी । नयाँ क्लबहरु अब रहरमा होइन, प्रष्ट योजना र रणनीतिका साथ आउनु पर्छ । यसमा सम्बन्धित पक्षको ध्यान जाओस् ।

खानपिन

खानपिन अर्थात् खाने पिउने । यो उपशिर्षक विशेषतः नेपाली फुटबल खेलाडीहरुको लागि नै हो । यो उपशिर्षक पंक्तिकार स्वयंलाई पनि हो ।

नेपाली फुटबलको अनुभवले भन्छ ः खेलाडीहरुको खानपिन सही छैन । इन्टरनेट र संचारमाध्यमको विकासक्रमले हामीलाई विश्व फुटबलसँग नजिक बनाएको छ । खेलाडीहरुले धेरै कुराहरु हेरेर नै सिकेका पनि छन् । तर नसिकेको मुख्य कुरा हो ः खानपिन । जुन खेलाडीको विकासक्रममा महत्वपूर्ण छ । एउटा क्लबका पदाधिकारीले पंक्तिकारसँग गफगाफमा भनेका थिए ः खेलाडीहरु कसरी खेल्ने भनेर सोच्ने भन्दा पनि कस्तो हेयर स्टाइलमा मैदान छिर्ने भनेर धेरै सोच्छन् । भन्न खोजेको कुरा हो ः खेलाडीहरु अनावश्यक कुरामा ज्यादा ध्यान दिन्छन् ।

खेलको अघिल्लो दिनमा प्रशस्त मदिरापान गर्ने खेलाडीहरु अझ पनि व्याप्त भेटिन्छन् । धुमपान र मद्यपानले नेपाली खेलाडीहरुलाई गाँजेको छ । सायद अनिश्चित भविष्यले गर्दा पनि हुन सक्छ उनीहरुमा लत बसेको तर सोचनिय कुरा के हो भने ः हामी नयाँ पुस्तालाई के सिकाउँदै छौँ ? यदि यो लेख खेलाडी मित्रहरुले पढ्दै हुनु हुन्छ भने सोच्नुस् त एकचोटी, तपाईको दैनिक पौष्टिक आहार तालिका कस्तो छ र कुलतहरुदेखि कति टाढा हुनु हुन्छ ?

सही खानपिनको अनुसरणले तपाईको शरीरलाई सही आकारमा त राख्छ नै, नयाँ पुस्तालाई पनि एउटा शिक्षा दिनु हुन्छ तपाईले । एउटा अनुशासनको संस्कार पनि सुरु हुन्छ । खेलाडी पिडित भएको कतिपय विषयहरुमा खेलाडीहरुलाई नै जनमानसले गाली गलौज गर्ने एउटा कारण कतै खेलाडीहरुले सार्वजनिकरुपमा बेपर्वाह तरिकाले गर्ने खानपिन त होइन ?

पास
गएको लिगमा एन्फाले ए डिभिजन क्लबहरुलाई प्रत्येक खेलमा न्युनतम ३० वटा पासहरु उपलब्ध गरायो । लिग अवधिभर सबै क्लबहरुले लगभग ५,४६० वटा पासहरु प्राप्त गरेछन् । त्यो संख्यालाई रु. १०० ले गुणन गर्दा ५,४६,००० रुपैयाँ हुन्छ । यो ठाडो हिसाबमा एन्फाका पदाधिकारीहरुले बाँडेको पासको संख्या उल्लेख छैन । त्यस माथि उनीहरुले ठाडो आदेशमा गेटबाट छिराउने आफन्तजनहरुको संख्या पनि उल्लेख छैन । ती पासहरु एन्फाले क्लबका समर्थकहरुलाई दिएको सुविधा हो । यो नराम्रो चिज पनि होइन । तर पंक्तिकार भने यो पास सुविधाप्रति त्यति सकरात्मक छैन । स्पष्ट भाषामा भन्दा फुटबल टिकट काटेर हामी सबैले हेर्ने बानी बसाउनु पर्छ । माथि उल्लेखित ५,४६,००० रुपैयाँ ठूलो रकम पनि होइन तर प्रश्न हो, हामी कस्तो फुटबल संस्कारको विकास गर्दैछौँ भन्ने हो । अचम्म त त्यति बेला लाग्छ जब कोही व्यक्ति करोडको नीजि गाडीमा आउँछन् र गेटमा त्यही पास कुरेर बस्छन् । खेलाडीहरु पनि केही समय पछि हुने खेलमा ध्यान नदिई पास पाउन र बाँढ्न असिनपसिन गरेको दृश्यले नेपाली फुटबललाई नै गिज्याईरहेको आभाष हुन्छ ।

शिशुकालमा रहेको नेपाली फुटबलको विकासक्रममा अब हामीले संस्कारको पनि विकास गर्न आवश्यक छ । पैसा र शान होइन , संस्कारको कुरा हो ।

यो चाहिँ मसिनो कुरा हुँदै होइन

प्रसंग एक ः एक बिहानको चिया गफमा एउटा एनएसएल टिमका नेतृत्वकर्ताले पंक्तिकारसँग भने ः “टिम त हामी राम्रै बनाउँछौँ भाई, त्यो चिन्ताको विषय होइन तर फिक्सिङ कसरी रोक्ने भन्ने मात्र चिन्ता छ ।”

प्रसंग दुई ः धरानमा विद्यार्थी राजनीतिमा सक्रिय र व्यस्त एक जना भाईले पंक्तिकारसँगको भेटमा केही लोकप्रिय नेपाली खेलाडीहरुको नाम नै लिएर भने ः फलानो फलानो खेलाडीहरु त फिक्सिङका खास नामहरु हुन् रे नि, यो कुरा सत्य हो दाई ? ती नामहरु सुनेर म अ्वाक भएँ । आफैसँग त्यसको ज्ञान नभएको मैले थाहा छैन भन्नु सिवाय केही थिएन । तर ती नामहरु सुनेर मेरो मथिंगल भने हल्लिएको थियो ।

यी दुई प्रसंगहरुले घरेलु नेपाली फुटबलमा म्याच फिक्सिङले कति जरा गाडीसकेको छ भनेर प्रष्ट पार्छ । अहिलेको अवस्था तैँ चुप मै चुपको जस्तो देखिन्छ । नेपाली फुटबललाई नजिकबाट बुझ्नेले यस तथ्यलाई नकार्दैनन् । तल्लो डिभिजनका लिगहरुमा त क्लबले पारिश्रमिक नदिएको झोकमा खेलाडी आफैँले अनलाइन बेटिङ साइटमा योजना बनाएर सट्टपट्टा खेलेको घटनाहरु यही समाजमा सुन्न पाइन्छ । यसलाई खेलाडीको बाध्यता भनेर व्याख्या गर्नेहरु पनि भेटिन्छन् तर यो शतप्रतिशत गलत कुरा हो । गलत कुरालाई कुनै पनि बहानामा समर्थन गर्न सकिँदैन ।

यो विषयलाई एन्फाले नजरअन्दाज गरे केही समयपछि यसले नेपाली फुटबललाई धमिराले झैँ ध्वस्त पार्नेछ तर त्यो बेला धेरै ढिलो भई सकेको हुनेछ । कछुवाझैँ घिस्रिरहेको नेपाली फुटबलको सुन्दरतालाई यसले कुरुप बनाउनेछ । कानुनले प्रतिबन्ध गरे पनि सामाजिक संजालहरुमा भेटिने विदेशी अनलाइन बेटिङ साइटहरुको छपछ्याप्ती विज्ञापनहरुले कानुनको नै धज्जी उडाईरहेका छन् । समयमा नै यसबारे सोचेर पाइला चालिएन भने पछि पछुताउनु सिवाय केही बाँकी रहँदैन । चेतना भया ।

सन्जोग चाम्लिङ राई, पूर्व ए डिभिजन खेलाडी (यो लेख नितान्त लेखकको आफ्नो हो)

Post Comments