News एपिएफ बेलबारी गोल्डकपको फाइनलमा
गोलनेपाल

बेलबारी । रोमाञ्चक जितका साथ सशस्त्र प्रहरीको एपिएफ फुटबल क्लब यहाँ जारी पाँचौं बेलबारी बुद्ध एयर गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।

सोमबार सम्पन्न पहिलो सेमिफाइनलमा एपिएफले आयोजक डाँगीहाट युथ क्लब, मोरङलाई २–१ ले हराउँदै उपाधि नजिक पुगेको हो । लक्ष्मी माविको खेलमैदानमा भएको खेलको ४९औं मिनटमा टोप विष्टको गोलबाट एपिएफले अग्रता लिएको थियो । ६५औं मिनटमा नविन लामाले दोस्रो गोल थपे । जुन गोल खेलको निर्णायक गोल पनि बन्यो ।

उता ७२औं मिनटमा डाँगीहाटका लागि कासिम राईले एक गोल फर्काए तापनि घरेलु टोलीको हार टार्न सकेनन् । खेलमा एपिएफका टोप विष्ट म्यान अफ द म्याच घोषित भए । उनले पुरस्कार वापत नगद ५ हजार र ट्रफी हात पारे ।

प्रतियोगिता अन्तरगत कार्तिक २२ गते मंगलबारको दोस्रो सेमिफाइनल खेल राजारानी फुटबल क्लब, धनकुटा र सहलेश युवा क्लब, सिराहा बीच हुने आयोजकले जनाएको छ ।

बुद्ध एयरको मुख्य प्रायोजन रहेको प्रतियोगिताको विजेताले उपाधिसहित नगद ८ लाख हात पार्नेछ भने उपविजेताले ४ लाखका साथ ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ ।

Post Comments