News ब्राजील र पोर्चुगल नकआउट चरणमा
गोलनेपाल

काठमाडौं (एजेन्सी) । जारी फिफा विश्वकपमा उपाधिका दुई दावेदार ब्राजील र पोर्चुगल आ–आफ्नो समूहबाट नकआउट चरणमा प्रवेश गरेका छन् । समूह जी मा रहेको ब्राजीलले लगातार दोस्रो जित निकाल्दै नकआउट चरणमा प्रवेश गरेको हो ।

आफ्नो पहिलो खेलमा सर्बियालाई हराएको ब्राजीलले सोमबार राती स्वीजरल्याण्डलाई १–० ले हरायो । ब्राजीलको जितमा खेलको ८३औं मिनटमा स्टार मिडफिल्डर क्यासेमिरोले एक मात्र निर्णायक गोल गरे ।

दुई खेलबाट ६ अंक जोडेको ब्राजील एक खेल खेल्नु अघि नै नकआउट चरणमा प्रवेश गरेको छ । समूह जी मा रहेका अन्य तीन टोलीहरुमा स्वीजरल्याण्डको ३ अंक छ भने सर्बिया र क्यामरुनको १–१ अंक छ । समूह चरणको अन्तिम खेलमा ब्राजीलले क्यामरुनको सामना गर्दा स्वीजरल्याण्डले सर्बियासँग खेल्नेछ ।

त्यस्तै सोमबार राती नै भएको समूह एच तर्फको खेलमा पोर्चुगलले उरुग्वेलाई २–० ले हराउँदै लगातार दोस्रो जितका साथ नकआउट चरणमा प्रवेश गर्यो । पोर्चुगलको जितमा दुवै गोल ब्रुनो फर्नान्डेसले गरे । उनले एक गोल पेनाल्टी मार्फत गरेका थिए ।

पोर्चुगलले आफ्नो पहिलो खेलमा घानालाई हराएको थियो । समूह एचमा पोर्चुगलको ६ अंक छ भने घानाको ३ अंक छ । त्यस्तै उरुग्वे र दक्षिण कोरियाको समान १–१ अंक छ । समूह चरणको अन्तिम खेलमा पोर्चुगलले दक्षिण कोरियाको सामना गर्नेछ भने सोही दिन घाना र उरुग्वे पनि आमने सामने हुनेछन् ।

Post Comments