News साविक विजेता फ्रान्स क्वाटरफाइनलमा
गोलनेपाल

काठमाडौं (एजेन्सी) । राम्रो लयमा देखिएको साविक विजेता फ्रान्स प्रभावशाली जितका साथ जारी फिफा विश्वकपको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

समूह डी को विजेता बन्दै प्रिक्वाटरफाइनलमा पुगेको फ्रान्सले आइतबार समूह सी को उपविजेता पोल्याण्डलाई ३–१ ले हरायो । फ्रान्सका लागि स्टार फरवार्ड काइलन एम्बाप्पेले दुई गोल गरे ।

फ्रान्सका लागि गोलको खाता भने ४४औं मिनटमा ओलिभर जिरुडले खोलेका थिए । एम्बाप्पेले खेलको ७४औं मिनटमा फ्रान्सका लागि दोस्रो गोल थपे । त्यस्तै इन्जुरी समयमा एम्बाप्पेले व्यक्तिगत दोस्रो तथा टोलीका लागि तेस्रो गोल गरे र फ्रान्सको जित पक्का गरे ।

तेस्रो गोल खाए लगतै पोल्याण्डले पेनाल्टीको अवसर पाएको थियो । भिडियो एसिस्टेन्ट रेफ्रीको सहयोगमा पाएको पेनाल्टीलाई रोबर्ट लेवान्डोस्कीले गोलमा परिणत गरे तापनि टोलीलाई हारबाट भने जोगाउन सकेनन् ।

क्वाटरफाइनलमा फ्रान्सले आज राती नै हुने इङल्याण्ड र सेनेगल बीचको विजेतासँग भिड्नेछ ।

Post Comments