News इङल्याण्ड र फ्रान्स क्वाटरफाइनलमा भिड्ने
गोलनेपाल

काठमाडौं (एजेन्सी) । दुई युरोपियन महारथी इङल्याण्ड र फ्रान्स जारी कतार विश्वकपको क्वाटरफाइनलमा भिड्ने भएका छन् । आइतबार अबेर राती सम्पन्न प्रिक्वाटरफाइनलतर्फ इङल्याण्डले सेनेगलमाथि ३–० को प्रभावशाली जित निकालेपछि थ्री लायन्सको भेट साविक विजेता फ्रान्ससँग पक्का भएको हो ।

इङल्याण्डको जितमा खेलको ३८औं मिनटमा जोर्डन हेण्डरसनले पहिलो गोल गरे । जुड बेलिंघमको पासलाई सदुपयोग गर्दै उनले टोलीलाई शुरुवाती अग्रता दिलाएका थिए । पहिलो हाफ कै अतिरिक्त समयमा हेरी केनले इङलिस टोलीका लागि दोस्रो गोल थपे ।

प्रभावशाली जित निकाल्ने क्रममा दोस्रो हाफको ५७औं मिनटमा बुकायो साकाले तेस्रो गोल थपे र इङल्याण्डको शानदार जित पक्का गरे । अन्तिम दुई गोलका लागि फिल फोडेनले पास मिलाइदिएका थिए ।

यो जितसँगै क्वाटरफाइनलमा साविक विजेता फ्रान्स र पूर्वविजेता इङल्याण्ड बीचको क्वाटरफाइनल भिडन्त थप रोमाञ्चक हुने पक्का भएको छ ।

Post Comments