News सुजलको सन्देश, जगजितको जोश
गोलनेपाल

काठमाडौं । नेपाली फुटबल सुस्त हुँदै गईरहेका बेला फुटबललाई नै आफ्नो पहिलो पेशाका रुपमा अंगालेका फुटबल खेलाडीहरुको दैनिकी थप कष्टकर बन्दै गईरहेको छ ।

नेपाली फुटबलको सर्वोच्च निकाय अखिल नेपाल फुटबल संघ (एन्फा) ले पनि घरेलु फुटबलबारे ठोस निर्णय कार्यान्वयन गर्न नसक्दा त्यसले थप जटिलता थपिएको छ । एन्फाले केही महिना अघि मात्र आउँदो पौष २६ गतेदेखि महत्वाकांक्षी शहिद स्मारक ए डिभिजन लिग आयोजना गर्ने घोषणा गरेको थियो ।

लिग आयोजना डबल राउण्ड रोबिनका आधारमा उपत्यका बाहिर गर्ने निर्णय पनि एन्फाको थियो । साथै लिगमा सहभागि क्लबहरुलाई आवश्यक तयारी गर्न एन्फाले तयारी खर्च वापतको रकम पनि बृद्धि गरिदिने निर्णय गरेको थियो । तर त्यो निर्णय निर्धारित समय मै कार्यान्वयन नगर्दा त्यसको अपेक्षा गरिरहेका क्लबहरु असन्तुष्ट देखिए ।

क्लबहरुले एन्फाले आफ्ना आधारभुत कुराहरुप्रति बेवास्ता गरेको भन्दै निर्धारित मिति मै लिग सुचारु नहुने घोषणा गरे । अर्थात उनीहरुले तोकिएकै मितिमा लिग नखेल्ने अघोषित निर्णय गरे । लिग आयोजनाप्रति अहिले आएर क्लबहरुको पनि आफ्नै अडान र असन्तुष्टी देखिएपछि त्यसको प्रत्यक्ष मारमा परेका छन्, खेलाडीहरु ।

राष्ट्रिय खेलाडी सुजलको सन्देश

यहि समसामयिक घट्नाक्रमबारे नेपाली राष्ट्रिय फुटबल टोलीका सदस्य तथा मच्छिन्द्र क्लबका मिडफिल्डर सुजल श्रेष्ठले सामाजिक सञ्जालमार्फत आफ्नो विचार र दुःखेसो अभिव्यक्त गरेका छन् । सुजलको बुझाईमा नेपाली फुटबलमा सबै पुस्ताले समझदारी पूर्वक खेल्न पाउने वातावरण बनोस भन्ने चाहन्छन् ।

एन्फाले वाचा कबोल गरे अनुसारको कुरा कार्यान्वयन नगर्दा क्लबहरुले लिग निर्धारित मितिमा सञ्चालन नहुने कुरा गर्दा क्लबका लागि खेल्ने खेलाडीहरुले पनि क्लबबाट सोही किसिमको अवस्था भोगिरहेको सुजल बताउँछन् । सुजल भन्छन्, “खेलाडीहरुले खेल्न नपाउने तपाईंहरुको उद्देश्य नै हो भने हामी खुशी नै हुनुपर्छ ।”

उनी लेख्छन्, “तपाईंहरुले आफ्नो वाचा अनुसार रकम नपाउँदा खेललाई समयमा खेल्न नसकिने कुरा सही हुन पनि सक्छ तसर्थ अखिल नेपाल फुटबल संघले आफ्नो वाचालाई यथाशिर्घ निभाउनु पर्छ नै तर प्रश्न यो रह्यो कि एकाध क्लबहरु बाहेक केही क्लबहरुले आफूले खेलाडीहरुलाई प्रयोग गरे वापत वाचा र सहमति अनुसारको पारिश्रमिक समयमा र पूर्ण रुपमा उपलब्ध गराउनु भएको छ त? सायद जवाफ सकरात्मक आउदैन नै होला ।”

सुजलका अनुसार विभिन्न उमेर समूहदेखिका पुरुष तथा महिला खेलाडीहरुले पनि एन्फाबाट घोषणा भएको रकम पाएका छैनन् । तर नेपाली फुटबललाई माया गर्ने सबै खेलाडीहरु त्यसलाई समझदारीका साथ बुझेर फुटबलमा निरन्तर होमिएको जिकिर गरेका छन् ।

सबैसँग समझदारी गरेर अगाडी बढ्ने तर नेपाली फुटबलका लागि बाधक नबन्ने सुजलको भनाई छ । साथै सबैले आपसी समझदारी र मेहनत गरेर नेपाली फुटबलमा टेवा पुर्याउनुपर्ने सुजलको बुझाई छ । साथै सुजलले आफू र आउने हरेक पुस्ताले स्वच्छ वातावरणमा फुटबल खेल्ने अवस्था होस र सबैलाई नेपाली फुटबलले गर्व गर्ने क्षण मिलोस भन्ने चाहन्छन् ।

जगजितको जोश पनि उस्तै

पछिल्लो समय अष्ट्रेलियमा रहे पनि सामाजिक सञ्जालमा निरन्तर सक्रिय रहने अर्का राष्ट्रिय खेलाडी जगजित श्रेष्ठले पनि आफ्नो अभिव्यक्ति सार्वजनिक गरेका छन् । हालैको घट्नाक्रमबारे जगजित लेख्छन्, “नेपाली खेलाडीहरु बोल, अब उठ । खेल खेल्न पाउनु तिमीहरुको अधिकारको कुरा हो । अहिले राणा शासन पनि छैन, पञ्चायतकाल पनि छैन ।”

जमाना कहाँ पुगिसक्यो तर नेपाली खेलाडीहरुले खेल्न पनि पाएका छैनन् भन्ने कुरा आक्रोशित आशयमा उनले सामाजिक सञ्जालमा लेखेका छन् । जगजित अगाडी लेख्छन्, “तिमीहरुलाई हक अधिकारका बारेमा कुरा उठाउन पूर्ण अधिकार छ । क्लब र एन्फाले मेहरबान गर्ला र अनि खेलेर खाउँला भन्ने आशमा नबस ।”

पलायनको बाटोमा खेलाडीहरु

पछिल्लो केही समय यता नेपाली फुटबलमा राम्रो परिचय र साख बटुलेका खेलाडीहरु विदेश पलायन भईरहेका छन् र यो क्रम आगामी दिनहरुमा पनि चल्ने निश्चित छ । निरन्तर फुटबल गतिविधी नहुनु, भएका फुटबल गतिविधीले पनि दैनिकी चलाउन गाह्रो पर्नु र आफ्नो अनि परिवारको भविष्य सुनिश्चित गर्न पनि कतिपय खेलाडीहरु विदेशलाई नै विकल्प मानेका छन् ।

सम्बन्धित निकाय र पक्षले यसलाई गम्भिरतापूर्वक लिनुपर्ने धेरैको बुझाई छ । देशको लोकप्रिय खेल फुटबलमा लागेका खेलाडीहरुको यो अवस्था देख्दा जो कोहीको मनमा पनि पिडासँगै आक्रोश पनि पोखिन्छ होला । तर सरोकारवालाहरुले बुझ्ने र यसको समाधानका लागि पहलकदमी गर्ने प्रयास भने न्यून नै छ ।

Post Comments