News पोखरा गोल्डकपमा सहभागि हुने टोलीको टुंगो लाग्यो
सुदर्शन रञ्जित

पोखरा । सहारा क्लब, पोखराद्धारा आयोजना हुने मोफसलको प्रतिष्ठित २२औं आहा! रारा पोखरा गोल्डकपमा सहभागिता जनाउने टोलीहरुको टुंगो लागेको छ ।

“खेलकुदको विकासमा सहकार्य गरौं, पोखरालाई खेलकुद पर्यटन शहरको रुपमा स्थापित गरौं” भन्ने मूल नाराका साथ यहि पौष १४ देखि २३ गतेसम्म आयोजना हुन गईरहेको प्रतियोगितामा सहभागिता जनाउने टोलीहरुको टुंगो लागेको आयोजकले जानकारी दियो ।

प्रतियोगिताको २२औं संस्करणमा एक विदेशी सहित नेपालका शिर्ष क्लबहरुको सहभागिता रहने आयोजकले जनाएको छ । जसमा नेपाल एपिएफ क्लब, मनाङ मस्र्याङ्दी क्लब, नेपाल प्रहरी फुटबल क्लब, त्रिभुवन आर्र्मी फुटबल क्लब, मच्छिन्द्र क्लब, संकटा क्लब, चर्च ब्वाइज युनाइटेड फुटबल क्लब, बिवाईएससी, अमेरिका, धरान फुटबल क्लब र आयोजक सहारा क्लब, पोखरा रहेका छन् ।

यसपटक प्रतियोगिताको पुरस्कार रकममा पनि बृद्धि गरिएको आयोजकले जानकारी दियो । यसपटक प्रथम पुरस्कारमा २ लाख बृद्धि गरि विजेताले उपाधिसहित नगद १२ लाख हात पार्नेछ भने दोस्रो पुरस्कारमा १ लाख बृद्धि गरि उपविजेताले नगद ६ लाखका साथ ट्रफी, मेडल र प्रमाणपत्र पाउने आयोजक क्लबका महासचिव रामजी प्रसाद अधिकारीले जानकारी दिए ।

स्मरण रहोस, आयोजक सहारा क्लबले आफ्नै खर्चमा विपन्न बालकहरुलाई राखी खाना, आवास र शिक्षासहित निःशुल्क फुटबल एकेडेमी सञ्चालन गर्दै आएको छ । प्रतियोगिता आयोजनाबाट बचत रकम एकेडेमी सञ्चालन मै खर्च गरिने पनि महासचिव अधिकारीले बताए ।

 

Post Comments