News एन्फा र एनएसएल आयोजकबीच सहमति, सुपर लिग आयोजनाको ढोका खुल्यो
गोलनेपाल

काठमाडौं । नेपालको बहुप्रतिष्ठित फ्रेन्चाईज नेपाल सुपर लिग (एनएसएल) आयोजक नेपाल स्पोर्टस एण्ड इभेण्ट म्यानेजमेण्ट प्रा.लि. र अखिल नेपाल नेपाल फुटबल संघ (एन्फा) बीच नयाँ सहमति भएको छ । मंगलबार दुवै पक्षबीच भेटघाट र आवश्यक छलफलका बीच सम्झौतापत्रमा हस्ताक्षर समेत भयो ।

एन्फाका तर्फबाट महासचिव किरन राई तथा नेपाल स्पोर्टस एण्ड इभेण्ट म्यानेजमेण्डको तर्फबाट अध्यक्ष आश्रयता कार्की चौधरीले एक कार्यक्रमका बीच सम्झौतापत्रमा हस्ताक्षर गरे । एन्फाका अनुसार दुवै पक्षबीच सुपर लिग आयोजना गर्न आठ सिजनका लागि करिब १७ करोड २१ लाख रुपैयाँको सहमति भएको छ ।

सोही अवसरमा एनएसएल आयोजकको तर्फ अध्यक्ष आश्रयता कार्की चौधरीले एन्फा महासचिव किरन राईले सुपर लिगको पहिलो सिजन वापतको १ करोड ५० लाख रुपैयाँको चेक समेत हस्तान्तरण गरिन् ।

सुपर लिग आयोजनाको बाटो खुला

यो सम्झौतासँगै नेपाल सुपर लिगको दोस्रो सिजन आयोजनाको बाटो पनि खुला भएको छ । यसअघि सुपर लिगको दोस्रो सिजनको मिति पटक–पटक सर्दा सम्बन्धित क्लब र खेलाडीहरु मारमा परेका थिए । खेलाडीहरुको लिलामी पनि सम्पन्न भई सकेको अवस्थामा सुपर लिग आयोजना नहुँदा कतिपय खेलाडीहरु विदेश पनि पलायन भईसकेका छन् ।

यद्यपि मंगलबार एन्फा र नेपाल स्पोर्टस एण्ड इभेन्ट म्यानेजमेण्टबीच भएको नयाँ सम्झौताले नेपाल सुपर लिगको दोस्रो सिजन अब छिटै आयोजना गर्ने ढोका र सम्भावना खुला भएको छ । यसले खेलाडी र क्लबहरुलाई पनि केही राहत मिलेको छ । सुपर लिगको दोस्रो सिजनमा कुल दश टोलीहरुले सहभागिता जनाउने तय भईसकेको छ ।

एन्फालाई ए डिभिजन लिगको चुनौति पनि कायम

एन्फाले एनएसएल आयोजकसँग नयाँ सम्झौता गरे पनि शहिद स्मारक ए डिभिजन लिग आयोजनाबारे भने एन्फासँग अझै अर्को चुनौति यथावत छ । ए डिभिजन लिग यहि पौष २६ गतेदेखि डबल राउण्ड रोबिनका आधारमा आयोजना हुने एन्फाले घोषणा गरेको थियो ।

साथै एन्फाले सहभागि टोलीहरुलाई लिग तयारी खर्च र अन्य खर्चसहितको रकम उपलब्ध गराउने पनि घोषणा गरेको थियो । तर घोषित वाचा अनुसार एन्फाले रकम उपलब्ध नगराएपछि लिगमा सहभागिता जनाउने केही क्लबहरुले तोकिए कै मितिमा लिग आयोजना नहुने घोषणा गरेका थिए ।

यसो हुँदा घरेलु फुटबलको मेरुदण्ड मानिएको ए डिभिजन लिग यसवर्ष नहुने हो कि भन्ने अन्यौलता पनि धेरैमा छाएको छ । यद्यपि एन्फाले यसबारे पनि बेलैमा ठोस निर्णय लिएर यथाशिघ्र लिग सञ्चालन गर्ने माहोल सिर्जना गर्नु पनि पहिलो प्राथमिकता देखिएको छ ।

Post Comments