
बेलडागी । बुधबारदेखि शुरु जय हुमागाई मेमोरियल गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण फुटबल प्रतियोगितामा सहलेश युवा क्लब, सिराहाले विजयी शुरुवात गरेको छ ।
बेलडागी फुटबल मैदानमा भएको उद्घाटन खेलमा सहलेशले बिर्तामोड युनाइटेड एफसी, झापा विरुद्ध पेनाल्टी शुटआउटमा ४–२ ले हराउँदै विजयी शुरुवात गरेको हो । त्यसअघि निर्धारित समयको प्रतिस्पर्धात्मक खेल दुवै टोलीले गोलरहित बराबरी खेलेका थिए ।
खेलमा सहलेशका सिमान्त थापा म्यान अफ द म्याच घोषित भए । उनले पुरस्कार वापत नगद ५ हजार र मेडल हात पारे । यो जितसँगै सहलेश प्रतियोगिताको सेमिफाइनलमा समेत प्रवेश गरेको छ ।
प्रतियोगिता अन्तरगत पौष ७ गते बिहीबारको दोस्रो क्वाटरफाइनल खेल पथरी शनिश्चरे १० सेटलमेन्ट, मोरङ र शान्तिनगर एफसी, सुनसरी बीच हुने आयोजकले जानकारी दियो ।
त्यसअघि प्रतियोगिताको उद्घाटन कार्यक्रमका प्रमुख अतिथी झापाका सहायक जिल्ला प्रमुख अधिकारी रुद्र प्रसाद न्यौपानेले गरेका थिए ।
स्व. जय हुमागाईं एवम् परिवार (अमेरिका) को आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित ५ लाख हात पार्नेछ भने उपविजेताले ३ लाख प्राप्त गर्नेछ । कुल ८ टोलीहरुको सहभागिता रहेको प्रतियोगिताको फाइनल खेल भने पौष १३ गतेका दिन हुनेछ ।