News मनाङबाट अलग भए अन्जन
गोलनेपाल

काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टोलीका स्टार फरवार्ड अन्जन बिष्टले आफ्नो नेपालको सफलतम क्लब मध्ये एक मनाङ मस्र्याङ्दी क्लबबाट अलग भएको घोषणा गरेका छन् । २४ वर्षिय अन्जनले आफ्नो आधिकारिक सामाजिक सञ्जालमार्फत यो कुराको घोषणा गरेका हुन् ।

उनले क्लबको केही व्यक्तिको स्वार्थका कारण असन्तुष्टी जनाउँदै क्लब छाडेको फेसबुक वालमा लेखेका छन्, “जुन क्लबलाई मनदेखी आफ्नो दोस्रो घर सोंचेर अगाडी बढेको थिएँ, त्यसमा केही व्यक्तिहरुले क्लबलाई आफ्नो स्वार्थ अनुसार चलाउन खोजेपछि पटक–पटक राम्रो हुन्छ कि सोच्दा समेत व्यक्तिगत स्वार्थ अनुसार क्लबको हित भन्दा आफू अनुसार क्लबलाई चलाउन खोजेपछि खेलाडीको मनोबल गिराउने कार्य हुन थालेपछि, बाध्य भएर दुःखी मनका साथ यस क्लबसँगको सहकार्य टुंग्याउने निधो गरेको छु ।”

साथै उनले क्लबमा फुटबल बुझेको र खेल र खेलाडीको हितमा काम गर्ने मान्छे आए फेरि क्लबमा फर्किन सक्ने समेत बताएका छन् । उनले त्यो अवस्था आए क्लबमा फर्किने आफ्नो ढोका सधै खुला रहने समेत स्पष्ट पारेका छन् । साथै उनले आफूलाई दिएको माया र सद्भावका लागि सबैलाई धन्यवाद र आभार समेत प्रकट गरेका छन् ।

स्मरण रहोस, मनाङलाई २०७५ सालको शहिद स्मारक ए डिभिजन लिगको किर्तिमानी आठौं उपाधि जिताउन अन्जनले पनि अहम भूमिका खेलेका छन् । एपिएफ क्लबबाट मनाङमा आवद्ध भए यता उनले केही महत्वपूर्ण घरेलु उपाधि समेत जितेका थिए । जसमा पोखरामा सम्पन्न १८औं आहा! रारा गोल्डकप समेत सामेल छ । साथै उनले सिक्किममा सम्पन्न प्रतिष्ठित गभनर्स गोल्डकपको उपाधि समेत मनाङका लागि जितेका थिए ।

 

Post Comments