News अन्जन चर्च ब्वाईजमा अनुवन्धित
गोलनेपाल

काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टोलीका चर्चित फरवार्ड अन्जन बिष्टले घरेलु फुटबलमा नयाँ क्लब पाएका छन् । अन्जनले भर्खरै शिर्ष डिभिजनमा बढुवा भएको चर्च ब्वाईज युनाइटेड एफसीलाई रोजेका छन् ।

स्मरण रहोस, २४ वर्षिय फरवार्डले मंगलबार मात्र लामो समय सहकार्य गरेका मनाङ मस्र्याङ्दी क्लबसँग अलग भएको घोषणा गरेका थिए । अन्जनले क्लबका केही व्यक्तिहरुको व्यक्तिगत स्वार्थका कारण आफूले बाध्य भएर मनाङ छाडेको आफ्नो फेसबुक वालमा लेखेका थिए ।

उता चर्च ब्वाईजले पनि अन्जनलाई अनुवन्ध गरेको कुरा आफ्नो आधिकारिक सामाजिक सञ्जालमार्फत पुष्टी र घोषणा गरेको छ । शहिद स्मारक बी डिभिजन लिग जित्दै ए डिभिजनमा बढुवा भएको चर्च ब्वाईज यसपटक शिर्ष लिगमा पनि उत्कृष्ट प्रदर्शन गर्ने योजनामा छ ।

क्लबले अन्जनलाई के कति रकममा अनुवन्ध गरेको हो त्यो भने खुलाएको छैन । तर अन्जनले कलबसँग एक वर्षको सम्झौता गरेको क्लबले पुष्टी गरेको छ । केही रिपोर्टअनुसार अन्जन हाल चोटल छन् । यद्यपि उनी छिटै नयाँ क्लबका लागि उपलब्ध हुन सक्ने बुझिएको छ ।

चर्च ब्वाईज युनाइटेडले यहि पौष १४ गतेदेखि शुरु हुन गईरहेको प्रतिष्ठित २२औं आहा! रारा पोखरा गोल्डकप पनि खेल्दैछ । जसअन्तरगत क्लबले पौष १५ गतेका दिन विभागीय टोली नेपाल पुलिस क्लबसँग खेल्ने कार्यक्रम छ ।

Post Comments