News युवा खेलाडी उत्पादन गर्ने पुर्व खेलाडी दुर्गाको अठोट
बिक्रम बानियाँ क्षेत्री

काठमाडौं । कुनै समय १३ बर्षको उमेरमा ए डिभिजन क्लब ब्वाइज युनियनबाट डेब्यु गरेका खेलाडीको रुपमा परिचित नाम हो दुर्गाराज लावत ।

लामो समय विभिन्न क्लबहरुबाट ए डिभिजन खेलेका उनी मनाङ मस्याङदी क्लब, ए पिएफ क्लब र फ्रेन्डस क्लब जस्ता चर्चित र सफल क्लबहरुबाट पनि देशको शिर्ष लिग खेल्न भ्याए ।

अन्तर्राष्ट्रिय फुटबलमा नियमित आफ्नो स्थान नबनाए तापनी दुर्गाले तत्कालिन नेपाली राष्ट्रिय फुटबल टिम (निलो) को महत्वपुर्ण सदस्यका रुपमा पनि खेल्ने अवसर पाए ।

लामो समय नेपाली फुटबलमा खेलाडीको रुपमा बिताएका उनी खेल्ने रहर हुँदाहँुदै पनि चोट अनि विविध कारणले खेलाडीका रुपमा फुटबलबाट अलग हुनु परेको नमिठो अतित सम्झिन्छन् ।

यद्यपि फुटबलप्रतिको उनको मोह भने अझै जीवन्त रहेको छ । यतिबेला उनी आफ्नै गृह जिल्ला दाङमा युवा खेलाडी उत्पादन गर्न दिनरात नभनी खटिरहेका छन् ।

क्षमतावान र राम्रा खेलाडीहरु उत्पादन गर्ने उद्देश्यका साथ उनले ६ देखि १२ वर्ष उमेर समूहका करि ३० कलिला युवा खेलाडीहरुलाई नियमित फुटबल प्रशिक्षण दिईरहेका छन् ।

सिमित श्रोत र साधनकाबीच उनले फुटबल प्रशिक्षण दिन थालेको बताए । त्यसमा जिल्ला फुटबल संघ दाङका अध्यक्ष सन्जात धिताल र तेक्वान्दो खेलाडी मोहन सुनारले पनि साथ दिएको दुर्गा बताउँछन् ।

फुटबल प्रशिक्षणमा अहोरात्र खटिएर पनि कसैको सक्दो साथ र सहयोग नपाउँदा निराश पनि छन् दुर्गा । उनी भन्छन्, ‘कुनै संघसंस्थाले मेरो यो प्रयासलाई सहयोग गरे मलाई धेरै हौसला मिल्ने थियो ।’

जे भए पनि उनी फुटबलमा राम्रा खेलाडीहरु उत्पादन गर्ने अठोटमा भने अडिग रहने बताउँछन् । उनी अगाडी भन्छन्, ‘सहयोग मिले राम्रो हुने थियो । तर पनि खेलाडी उत्पादन गर्ने मेरो अठोट र अभियान जारी रहनेछ ।’

 

 

 

Post Comments