News पुलिसलाई हराउँदै चर्च ब्वाईज क्वाटरफाइनलमा
उमेश पुन

पोखरा । चर्च ब्वाईज युनाइटेड एफसी, यहाँ जारी २२औं आहा! रारा पोखरा गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण फुटबल प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

शुक्रबार सम्पन्न प्रिक्वाटरफाइनलतर्फ चर्च ब्वाईजले प्रतियोगिता कै सर्वाधिक सफल क्लब नेपाल पुलिस क्लबलाई २–१ ले हराउँदै क्वाटरफाइनलमा स्थान बनाएको हो ।

पोखरा रंगशालामा भएको खेलमा अग्रता भने पुलिसले लिएको थियो । २४औं मिनटमा रवि पासवानको गोलबाट पुलिसले अग्रता बनायो । तर दोस्रो हाफमा चर्च ब्वाईज युनाइटेड पूनःरागमन गर्यो ।

७७औं मिनटमा अन्जन बिष्टले चर्च ब्वाईजका लागि बराबरी गोल फर्काए । भर्खरै चर्च ब्वाईजमा आवद्ध भएका अन्जनका लागि नयाँ क्लबको त्यो डेब्यु गोल समेत थियो ।

निर्णायक गोल भने खेलको इन्जुरी समयमा सम्भव भयो । चर्च ब्वाईजले पाएको कर्नर किकमा अनन्त तामाङले निर्णायक गोल गर्दै टोलीलाई रोमाञ्चक जित दिलाए ।

खेलमा चर्च ब्वाईजका अन्जन बिष्ट म्यान अफ द म्याच चुनिए । उनले पुरस्कार वापत नगद ८ हजार र ट्रफी हात पारे । प्रतियोगिता अन्तरगत पौष १६ गते शनिबारको पहिलो क्वाटरफाइनल खेल धरान एफसी र साविक विजेता एपिएफ क्लबबीच हुने आयोजकले जानकारी दियो ।

सहारा क्लब, पोखराको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद १२ लाख हात पार्नेछ भने उपविजेताले ६ लाख प्राप्त गर्नेछ । फाइनल खेल पौष २३ गतेका दिन हुनेछ ।

Post Comments