News मच्छिन्द्रलाई निराश बनाउँदै चर्च ब्वाईज सेमिफाइनलमा
उमेश पुन

पोखरा । ए डिभिजन लिग च्याम्पियन मच्छिन्द्र फुटबल क्लबलाई हराउँदै बी डिभिजन लिग च्याम्पियन चर्च ब्वाईज युनाइटेड एफसी यहाँ जारी २२औं आहा! रारा पोखरा गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ ।

आइतबार पोखरा रंगशालामा सम्पन्न खेलमा चर्च ब्वाईजले मच्छिन्द्रलाई ३–१ ले निराश बनाएको हो । खेलको २४औं मिनटमा आशिष चापागाईंको गोलबाट चर्च ब्वाईजले खेलमा अग्रता बनायो । पहिलो हाफ मै आशिष चापागाईंले व्यक्तिगत दोस्रो गोल गर्दै टोलीको अग्रता पनि दोब्बर पारे ।

६६औं मिनटमा आशिष चौधरीले तेस्रो गोल गर्दै चर्च ब्वाईजको जित सुनिश्चित गरे । उता खेलको अन्तिमतिर सौरभ सुब्बाले मच्छिन्द्रका लागि एक गोल फर्काए तापनि टोलीलाई खेलमा फर्क भने अबेर भईसकेको थियो ।

खेलमा चर्च ब्वाईजका आशिष चापागाईं म्यान अफ द म्याच चुनिए । उनले पुरस्कार वापत नगद ८ हजार र ट्रफी हात पारे । प्रतियोगिता अन्तरगत पौष १८ गते सोमबारको तेस्रो क्वाटरफाइनल खेल त्रिभुवन आर्मी फुटबल क्लब र संकटा क्लबबीच हुने आयोजकले जानकारी दियो ।

सहारा क्लब, पोखराको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद १२ लाख हात पार्नेछ भने उपविजेताले ६ लाख प्राप्त गर्नेछ । फाइनल खेल यहि पौष २३ गतेका दिन हुनेछ ।

Post Comments