News संकटा बन्यो २२औं आहा! रारा गोल्डकप च्याम्पियन
उमेश पुन

पोखरा । रोमाञ्चक जितका साथ संकटा क्लब शनिबार सम्पन्न मोफसलको प्रतिष्ठित २२औं आहा! रारा अन्तर्राष्ट्रिय आमन्त्रण फुटबल प्रतियोगिताको च्याम्पियन बनेको छ ।

पोखरा रंगशालामा सम्पन्न प्रतिस्पर्धात्मक फाइनलमा भुटनिज युथ स्पोर्टस क्लब, अमेरिकलाई ३–२ ले हराउँदै संकटाले तीन वर्षमा दोस्रोपटक उपाधि उचालेको हो । स्मरण रहोस, यसअघि संकटाले २०७७ सालमा पनि उपाधि जितेको थियो । त्यतिबेला फाइनलमा अफ्रिकन रुटसलाई हराउँदै संकटाले उपाधि उचालेको थियो ।

शनिबार भएको दुई गोलको स्पष्ट अग्रता गुमाउँदा संकटाले जितका लागि अतिरिक्त समयसम्म संघर्ष गर्नुपर्यो । खेलको सातौं मिनट मै सुरज जिउ ठकुरीले संकटालाई खेलमा अग्रता दिलाए । ३४औं मिनटमा मेसुके ओलुमुले संकटाको त्यो अग्रता दोब्बर पारे ।

तर अमेरिकी टोलीले खेलमा नाटकीय पूनःरागमन गर्यो । ३७औं मिनटमा रेने स्यान्टिलनले पाहुना टोलीका पहिलो गोल गरे । त्यस्तै पहिलो हाफ कै इन्जुरी समयमा विलिस ग्रिफिटले दोस्रो गोल गर्दै खेललाई २–२ गोलको रोमाञ्चक बराबरीमा ल्याएका थिए ।

निर्धारित समयको खेल २–२ कै बराबरीमा सकिएपछि खेल अतिरिक्त समयतर्फ धकेलिएको थियो । ३० मिनटको अतिरिक्त समयको खेलको अन्तिमतिर कप्तान सुनिल बलले संकटाका लागि निर्णायक गोल गर्दै टोलीलाई रोमाञ्चक जित दिलाए ।

विजेता बनेको संकटाले उपाधिसहित नगद १२ लाख हात पार्यो भने उपविजेता भुटनिज युथ स्पोर्टस क्लबले ६ लाखमा चित्त बुझायो । सहारा क्लब, पोखराको आयोजनामा यहि पौष १४ गतेदेखि शुरु भएको प्रतियोगितामा कुल १४ टोलीहरुले सहभागिता जनाएका थिए ।

Post Comments