News शेर्पालाई हराउँदै भुटनिज युथ सेमिफाइनलमा
बिक्रम बानियाँ क्षेत्री

फापरबारी । पाहुना टोली भुटनिज युथ स्पोर्टस् क्लब, अमेरिका मकवानपुरमा जारी पाँचौ बागमती गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।

बिहीबार भएको क्वाटरफाइनल भिडन्तमा हिमालयन शेर्पा क्लबलाई शून्यका विरुद्ध २ गोलले हराउँदै बीवाइएससी अन्तिम चारमा प्रवेश गरेको हो ।

बागमती गाउँपालिका–८ स्थित जनता माविको खेलमैदानमा भएको खेलको दोस्रो मिनट मै प्रबिन बस्नेतको गोलबाट बीवाइएससीले अग्रता बनाएको थियो । त्यस्तै खेलको अन्तिमतिर ८३औं मिनटमा हेक्टरले दोस्रो गोल थप्दै अमेरिकी टोलीको जित पक्का गरे ।

बीवाइएससीका लागि दोस्रो गोल गरेका हेक्टर खेलको म्यान अफ दी म्याच घोषित भए । उनले नगद ५ हजार रुपैयाँ सहित ट्रफी प्राप्त गरे । प्रतियोगिता अन्तरगत पौष २९ गतेको क्वाटरफाइनल खेल चर्च ब्वाईज युनाइटेड एफसी र एपिएफ फुटबल क्लबबीच हुने आयोजकले जानकारी दियो ।

बागमती गाउँपालिका खेलकुद विकास समिति, मकवानपुरको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद ८ लाख हात पार्नेछ भने उपविजेताले ४ लाख प्राप्त गर्नेछ । फाइनल खेल माघ ३ गतेका दिन हुनेछ ।

Post Comments