News फोर ब्रदर्श सरावल अध्यक्ष कपको फाइनलमा
सुरज राना मगर

बसही । फोर ब्रदर्श एफसी, नवलपरासी यहाँ जारी पाँचौ सरावल अध्यक्ष कप खुला नकआउट फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । बिहीबार भएको दोस्रो सेमिफाइनलमा राष्ट्रिय युवा संघ, नवलपरासीलाई ४–२ ले हराउँदै फोर ब्रदर्श फाइनलमा प्रवेश गरेको हो ।

सरावल–१ स्थित बसही रंगशालामा भएको खेलमा फोर ब्रदर्शका लागि फागुराम चौधरीले दुई गोल गरे । उनले दुवै गोल पेनाल्टीबाट गरेका थिए । त्यस्तै फोडे फोफोना र एमीले थप एक–एक गोल गरे । उता पराजित राष्ट्रिय युवा संघका लागि एनिशले एक गोल गरे भने अर्को गोल कप्तान डोना थापाले पेनाल्टीमार्फत गरेका थिए ।

खेलको दोस्रो हाफ केहीबेर तनावपुर्ण पनि बन्यो । वैकल्पिक खेलाडीका रुपमा मैदान बाहिरिएका फोर ब्रदर्शका गोलरक्षक बिबेक चौधरीले नियम उल्लंघन गर्नुका साथै म्याच अफिसियल माथि पनि हातपात गरेपछि उनलाई रातो कार्ड देखाईएको थियो । तनाव बढेपछि खेल समेत केहीबेर प्रभावित भएको थियो ।

खेलमा फोर ब्रदर्शका फागुराम चौधरी म्यान अफ द म्याच घोषित भए । उनले पुरस्कार वापत नगद १५ सय र ट्रफी हात पारे । फोर ब्रदर्शले अब फाइनलमा पौष ३० गते शनिबारका दिन अभिषेक चर्च रजहरको सामना गर्नेछ ।

सरावल गाउँपालिकाको आयोजना तथा श्री बसन्त युथ क्लब, सरावल–१, बसही, नवलपरासीको सह–आयोजना र व्यवस्थापनमा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद २,२२,२२२ रुपैयाँ हात पार्नेछ भने उपविजेताले १,११,१११ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ ।

Post Comments