News बगर भाई खलक अन्तर्राष्ट्रिय भेट्रान कप माघ ३ गतेदेखि (खेलतालिकासहित)
उमेश पुन

पोखरा । बगर भाई खलक, पोखरा, कास्कीको आयोजनामा माघ ३ गतेदेखि प्रथम हिमालयन ब्रुअरी प्रा.लि तथा बाह्रौं बगर भाई खलक एट ए साइड भेट्रान कप अन्तर्राष्ट्रिय आमन्त्रण फुटबल प्रतियोगितामा हुने भएको छ ।

पुरानो टुंडिखेल स्थित राष्ट्रिय उमाविको खेलमैदानमा हुने प्रतियोगितामा ४० वर्षमाथिको खेलाडीहरुले मात्र सहभागिता जनाउन पाउने आयोजकले पत्रकार सम्मेलनको आयोजना गरी जानकारी दियो ।

प्रतियोगितामा भारतको देहरादुनबाट युके मास्टर्स, उत्तराखण्ड, काठमाण्डौ, विरगन्ज, हेटौडा, चितवन, बुटवल, नवलपरासी, सिमरा, वालिङ्ग लगायतका स्थानहरुबाट कुल २४ टोलीहरुको सहभागिता रहने प्रतियोगिता संयोजक दिल बहादुर गुरुङले बताए ।

प्रतियोगिताको विजेताले उपाधिसहित नगद २ लाख हात पार्नेछ भने उपविजेता १ लाखसहित ट्रफी, मेडल र प्रमाणपत्र पाप्त गर्नेछ । त्यस्तै सेमिफाइनलमा पराजित हुने दुई टोलीलाई जनही २०–२० हजार प्रदान गरिने पनि आयोजकले जानकारी दियो । त्यसैगरी व्यक्तिगत विधातर्फ पनि आकर्षक पुरस्कारको व्यवस्था गरिएको आयोजकले जनाएको छ ।

वि.सं. २०६८ साल देखि आयोजना हँुदै आईरहेको प्रतियोगिताको मुख्य प्रायोजन यसपटक हिमालयन ब्रुअरी प्रा.लि. गरेको छ । सहारा युकेले द्धितिय पुरस्कारको प्रायोजन गरको छ भने युवा तथा खेलकुद मन्त्रालय, प्रदेश खेलकुद परिषद, पोखरा महानगरपालिका सह–प्रायोजकको रुपमा रहेको छ ।

माघ ८ गतेसम्म चल्ने प्रतियोगिता सम्पन्न गर्न करिब २४ लाख खर्च हुने अनुमान आयोजकले गरेको छ । प्रतियोगिताबाट बचत भएको रकम ८ वर्ष माथि १६ मूनिका विद्यार्थीहरुको फुटबल सम्बन्धी आवश्यक व्यवहारिक र सैद्धान्तिक ज्ञान दिने कार्यक्रममा खर्चिने आयोजकले बताएको छ ।

Post Comments