News बागमती गोल्डकपः संकटाका सुरज बने सर्वोत्कृष्ट खेलाडी
बिक्रम बानियाँ क्षेत्री

फापरबारी । मंगलबार सम्पन्न पाँचौं बागमती गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण फुटबल प्रतियोगितामा उपविजेता बने पनि संकटा क्लबका सुरज जिउ ठकुरी सर्वोत्कृष्ट खेलाडी चुनिएका छन् ।

राष्ट्रिय फुटबल टोलीका नियमित सदस्य समेत रहेका युवा मिडफिल्डर सुरजले संकटालाई फाइनलमा पुर्याउन महत्वपूर्ण भूमिका खेलेका थिए । प्रतियोगिता कै सर्वोत्कृष्ट खेलाडी बनेका सुरजले नगद ५० हजारसहित ट्रफी हात पारे ।

प्रतियोगिताको उत्कृष्ट गोलरक्षक भुटनिज युथका पुजन थापा मगर घोषित भए । उनी फाइनल खेलको म्यान अफ द म्याच समेत चुनिएका थिए । त्यस्तै उत्कृष्ट डिफेन्डर संकटाका कुलदिप कार्की घोषित भए ।

उत्कृष्ट मिडफिल्डर पनि संकटाका सुनिल बल चुनिए भने उत्कृष्ट फरवार्ड भुटनिज युथका प्रबिन बस्नेत बने । त्यस्तै उत्कृष्ट प्रशिक्षकको पुरस्कार पनि भुटनिज युथका प्रदिप हुमागाईंले हात पारे । व्यक्तिगत विधातर्फ उत्कृष्ट बनेका सबैले जनही १०–१० हजारसहित ट्रफी प्राप्त गरे ।

स्मरण रहोस, भुटनिज युथले फाइनलमा संकटालाई पेनाल्टी शुटआउटमा ८–७ ले हराउँदै उपाधि जितेको थियो । त्यसअघि निर्धारित समयको प्रतिस्पर्धात्मक खेल दुवै टोलीले २–२ गोलको बराबरी खेलेका थिए ।

बागमती गाउँपालिका खेलकुद विकास समिति, झुरझुरे, मकवानपुरको आयोजनामा गत पौष २४ गतेदेखि शुरु प्रतियोगितामा कुल १० टोलीहरुले सहभागिता जनाएका थिए ।

Post Comments