News २३औं गोधुली कपः वार्ड नम्बर १ र १६ को जित
गोलनेपाल

धरान । यहाँ जारी टुबोर्ग २३औं गोधुली रनिङ कप वार्डस्तरीय फुटबल प्रतियोगितामा धरान १ र धरान १६ ले जित हात पारेका छन् । धरान रंगशालामा भएको दिनको पहिलो खेलमा धरान १ ले धरान १८ लाई ४–३ ले हरायो ।

धरान १ को जितमा मनोज कुमार गुरुङ्गले दुई गोल गरे भने अजय चौधरी र यमन चेम्जोङले एक–एक गोल गरे । उता पराजित धरान १८ का लागि उज्ज्वल राई, प्रणय अन्जन र प्रबल राईले गोल गरे ।

खेलमा धरान १ का गोलरक्षक सइस मगर म्यान अफ द म्याच घोषित भए । उनले पुरस्कार वापत नगद १५ सय र ट्रफी हात पारे । यो जितसँगै धरान १ भने क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

त्यस्तै दिनको दोस्रो खेलमा धरान १६ ले धरान १० माथि ३–० को प्रभावशाली जित निकाल्यो । धरान १६ का लागि सरोज लोकेन्द्रीले ह्याट्रिक गरे । ह्याट्रिककर्ता लोकेन्द्री खेलको मयान अफ द म्याच पनि चुनिए । उनले पुरस्कार वापत नगद १५ सय र ट्रफी हात पारे । यो जितपछि धरान १६ पनि क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

प्रतियोगिता अन्तरगत माघ ४ गते बुधबारको खेल धरान ३ र धरान ५ बीच हुनेछ भने दोस्रो खेल धरान ६ र धरान १४ बीच हुने आयोजकले जानकारी दियो ।

गोधुली क्लब धरान, सुनसरीको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद १ लाख ५० हजार हात पार्नेछ भने उपविजेताले ७५ हजार प्राप्त गर्नेछ । फाइनल खेल यहि माघ १४ गतेका दिन हुनेछ ।

Post Comments