News आयोजक वालिङ (निलो) फाइनलमा
गोलनेपाल

वालिङ । साँघुरो जितका साथ आयोजक वालिङ युनाइटेड एफसी (निलो) यहाँ जारी वालिङ गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।

बुधबार भएको पहिलो सेमिफाइनलमा आयोजक वालिङ (निलो) ले विभागीय टोली एपिएफ फुटबल क्लबलाई शून्यका विरुद्ध १ गोलले हराउँदै उपाधि नजिक पुगेको हो ।

वालिङ नगरपालिका–८ स्थित वालिङ रंगशालामा भएको खेलको पहिलो हाफतर्फ छैठौं मिनटमा अजयी मार्टिन्सले गरेको एक मात्र गोल घरेलु टोलीलाई फाइनल पुर्याउन निर्णायक बन्यो ।

खेलमा आयोजक वालिङ (निलो) का विश्वास श्रेष्ठ म्यान अफ द म्याच चुनिए । उनले पुरस्कार वापत नगद ४ हजार र आकर्षक गिफ्ट ह्याम्पर प्राप्त गरे ।

प्रतियोगिता अन्तरगत माघ ५ गते बिहीबारको दोस्रो सेमिफाइनल खेल आयोजक वालिङ युनाइटेड (रातो) र एभनिर एफसी, क्यामरुन बीच हुने खेल संयोजक केशर थापाले जानकारी दिए ।

वालिङ युनाइटेड एफसी, वालिङ, स्याङ्जाको आयोजना तथा वालिङ नगरपालिका, स्याङ्जाको विशेष सहयोगमा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद ५ लाख हात पार्नेछ भने उपविजेताले २ लाख ५० हजार प्राप्त गर्नेछ । फाइनल खेल माघ ७ गतेका दिन हुनेछ ।

Post Comments