वालिङ । यहाँ जारी पितृ स्मृति ट्रिनिटी कप यु–१६ गण्डकी प्रदेशस्तरीय महिला फुटबल प्रतियोगिता अन्तर्गत हिल्ली फिल्डर्स गोरखा एफसी, देवचुली नगरपालिका र आयोजक ट्रिनिटी क्लब ए ले आ–आफ्नो खेलहरुमा जित हात पारेका छन् ।
वालिङ खेलमैदानमा भएको खेलमा हिल्ली फिल्डर्सले म्याग्दी जिल्ला फुटबल संघलाई १–० ले हरायो । हिल्ली फिल्डर्सका लागि युनिषा बरमले एक मात्र निर्णायक गोल गरिन् । निर्णायक गोलकर्ता युनिषा नै प्लेयर अफ दि म्याच बनिन् ।
अर्को खेलमा देवचुलीले आरएस पोखरा फुटबल क्लबलाई ४–२ ले पराजित गर्यो । देवचुलीका लागि रोजिना बोटे र प्रतिक्षा नेपालीले समान २–२ गोल गरे । उता आरएस पोखराका लागि सबिना परियार र बिपनाले गोल गरिन् । खेलमा देवचुलीकी रोजिना बोटे प्लेयर अफ दि म्याच बनिन् ।
त्यस्तै तेस्रो खेलमा आयोजक ट्रिनिटी ए ले पैयुँ गाउँपालिका, पर्वतलाई २–० ले हरायो । ट्रिनिटीका लागि सदिक्षा हिताङ र प्राश्ना परियारले गोल गरिन् । प्लेयर अफ दि म्याच पनि ट्रिनिटीकी प्राश्ना परियार बनिन् ।
ट्रिनिटी क्लब, वालिङ, स्याङ्जाको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद १ लाख हात पार्नेछ भने उपविजेताले ५० हजार प्राप्त गर्नेछ । समापन यही भदौ २३ गतेका दिन हुनेछ ।