News साग र बंगबन्धु गोल्डकप विजेता मन पनि बिदेशिए
सुरज राना मगर

काठमाडौं । एक पछि अर्को राष्ट्रिय खेलाडीहरुको बिदेशिने क्रम जारी रहँदा यो सूचीमा अर्का अन्तर्राष्ट्रिय खेलाडी मन बहादुर तामाङ पनि थपिएका छन् । नेपालको राष्ट्रिय र अन्तर्राष्ट्रिय फुटबलमा राम्रो परिचय बनाईसकेका डिफेन्डर मन शनिबार अष्ट्रेलियातर्फ प्रस्थान गरेका छन् ।

स्मरण रहोस, उनले गत महिना सम्पन्न २२औं आहा! रारा पोखरा गोल्डकपमा मनाङ मस्र्याङ्दी क्लबका लागि खेलेका थिए र नयाँ सिजन पनि मनाङ कै लागि खेल्ने योजनामा थिए । ‘भिषा आउने कुरा क्लबलाई जानकारी दिएको थिएँ । लिग शुरु नहुँदै भिषा आयो, त्यसैले जान लागेको ।” मनले कुराकानीका क्रममा गोलनेपालले भने ।

उनका अनुसार अष्ट्रेलिया बसाईका क्रममा अन्य खेलाडीहरु सरह त्यहाँ फुटबल खेल्ने वा नखेल्ने यसबारे अहिले निर्णय नलिएको बताए । नेपाली फुटबलमा देखिएको तिक्तताप्रति निराश मनले नेपाली फुटबललाई भने सधै माया गर्ने बताए । अन्य सरह बाध्यता कै कारण आफूले पनि विदेश पलायनलाई अन्तिम विकल्पकका रुपमा रोजेको बताए ।

बौद्ध एफसी, एपिएफ, हिमालयन शेर्पा हुँदै गत सिजन सातदोबाटो युथ क्लबका लागि खेलेका मनले सन् २०१६ मा भारतको गुवाहाटीमा भएको साग गेम्समा नेपालका लागि स्वर्ण जितेका थिए भने सोही बंगलादेशमा सम्पन्न प्रतिष्ठित बंगबन्धु गोल्डकपको उपाधि नेपालले जित्दा मन पनि नेपाली टोलीका महत्वपूर्ण सदस्य थिए ।

मनको अष्ट्रेलिया पलायनसँगै पछिल्लो एक वर्षमा विदेश पलायन हुने राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडीहरुको संख्या ३० भन्दा माथि पुगिसकेको छ । र खेलाडीहरुको विदेश पलायन हुने क्रम अझै चल्ने अनुमान गरिएको छ ।

स्मरण रहोस, आगामी फागुन १९ गतेदेखि शुरु हुन गईरहेको बहुप्रतिक्षित शहिद स्मारक ए डिभिजन लिगको शुरुवाती पाँच चरणको खेलतालिका एन्फाले शुक्रबार मात्र सार्वजनिक गरेको थियो । तर मन जस्तै थुप्रै खेलाडीहरुका लागि त्यो व्यर्थ बनेको छ ।

Post Comments