News तेस्रो बिर्तामोड भेट्रान्स कप माघ १३ देखि
रमेश समदर्शी

बिर्तामोड । तेस्रो संस्करणको बिर्तामोड भेट्रान्स फुटबल टुर्नामेन्ट यही माघ १३ गतेदेखि हुने भएको छ । आयोजक बिर्तामोड भेट्रान्स फुटबल क्लबले आज पत्रकार सम्मेलनको आयोजना गरेर प्रतियोगिताबारे जानकारी दिएको हो । 

क्लबका अध्यक्ष किरण थापाका अनुसार प्रदेशस्तरीय हुने प्रतियोगितामा १० टिमको सहभागिता रहनेछ । त्यस्तै, योपटक प्रतियोगिताको टाइटल स्पोन्सरमा फास्ट ट्र्याक द नेक्स्ट एजुकेसन कन्सल्टेन्सी रहेको थापाले बताए ।

 उनका अनुसार प्रदेशस्तरीय टुर्नामेन्टमा मिल्स भेट्रान विराटनगर, हाम्रो भेट्रान इटहरी, धरान भेट्रान, दमक लखनपुर भेट्रान, धरमपुर भेट्रान, दूधे भेट्रान, कनकाई भेट्रान, सिबिसी भेट्रान चन्द्रगढी, धुलाबारी भेट्रान र आयोजक बिर्तामोड भेट्रान फुटबल क्लबले प्रतिस्पर्धा गर्नेछन् । 

प्रतियोगिताको विजेताले नगद एक लाख एक हजार १११, ट्रफी, मेडल र प्रमाणपत्र पाउनेछ भने उपविजेताले नगद ५१ हजार १११, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने क्लबका कोषाध्यक्ष झलकसिंह राजवंशीले बताए । 

बिर्ताबजारको डोमालाल राजवंशी रंगशालामा हुने प्रत्येक खेलको म्यान अफ द म्याचले नगद एक हजार पाँच सय पाउनेछ भने प्रतियोगिताभरिको बेस्ट किप्पर, डिफेन्डर, स्ट्राइक र म्यान अफ दी टुर्नामेन्ट बन्ने खेलाडीले जनही नगद दुई हजार १०० पाउने उपाध्यक्ष गणेश सुब्बाले बताए । 

पत्रकार सम्मेलनमा समाजसेवी तथा झापा एफसीका अध्यक्ष जलकुमार गुरुङले स्वस्थ जीवन कायम राख्न तथा शारीरिक तन्दुरुस्तीका लागि ढल्किँदो उमेरमा फुटबल खेल्न जरुरी रहेको जिकिर गरे । 

कार्यक्रममा मुख्य प्रायोजकका तर्फबाट इन्द्र खनालले भेट्रान्ससँग जोडिन पाएकोमा खुसी व्यक्त गरे । टुर्नामेन्टको अनुमानित खर्च १५ लाख लाग्ने बताइएको छ ।

Post Comments