News पाँचौं स्थानीय तह शहिद स्मृति मकवानपुर गोल्डकप माघ अन्तिम सातादेखि, विजेताले १५ लाख पाउने
बिक्रम बानियाँ क्षेत्री

हेटौडा । मकवानपुर जिल्ला फुटबल संघको आयोजनामा हुने पाँचौं स्थान तह शहिद स्मृति मकवानपुर गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण गोल्डकप फुटबल प्रतियोगिता यहि माघ २९ गतेदेखि फागुन ११ गतेसम्म हुने भएको छ । सोमबार आयोजकले पत्रकार सम्मेलनको आयोजना गरी सो कुराको जानकारी गराएको हो ।

मकवानपुरमा फुटबलको प्रवद्र्धन र विकास गर्ने तथा नेपाली फुटबलको व्यवसायीकरणमा योगदान पुर्याउने उद्देश्यका साथ प्रतियोगितालाई यसवर्ष पनि भव्यताका साथ सम्पन्न गर्ने गरी निरन्तरता दिइएको आयोजक मकवानपुर जिल्ला फुटबल संघका अध्यक्ष टिकाराम लामाले बताए ।

हेटौडा स्थित पिप्ले क्याम्पा रंगशालामा हुने प्रतियोगिताको आवश्यक तयारी पनि शुरु गरिएको आयोजकले पत्रकार सम्मेलनमा जानकारी दियो । मकवानपुर जिल्लाका स्थानीय तहहरुको मुख्य प्रायोजन रहने प्रतियोगिताको विजेताले उपाधिसहित नगद १५ लाख हात पार्नेछ भने उपविजेताले १० लाख प्राप्त गर्नेछ ।

प्रतियोगिता कै सर्वोत्कृष्ट खेलाडीले नगद ५० हजार हात पार्नेछ भने विधागततर्फ उत्कृष्ट हुने खेलाडीहरुले पनि जनही २५–२५ हजार प्राप्त गर्नेछन् । त्यस्तै प्रत्येक खेलको म्यान अफ द म्याचलाई नगद १० हजारसहित पुरस्कृत गरिने पनि पत्रकार सम्मेलनमा जानकारी गराइयो ।

साथै अघिल्लो संस्करणहरुमा झैं यसपटक पनि सर्वोत्कृष्ट खेलाडीलाई हेटौडा स्कुल अफ म्यानेजमेण्टको प्रायोजन रहने गरी एक थान बुलेट मोटरसाइकल प्रदान गरिने पहल भईरहेको आयोजकले जानकारी दियो । प्रतियोगितामा स्वदेशी तथा विदेशी गरी कुल १२ टोलीहरुको सहभागिता रहने आयोजकले जनाएको छ ।

 

 

Post Comments