News संघर्षपुर्ण जितका साथ जनज्योति क्वाटरफाइनलमा
सुरज राना मगर

तिलोत्तमा । जनज्योति क्लब, डिङ्गरनगर यहाँ जारी पाँचौं सञ्जिवनी कप खुला नकआउट फुटबल प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

प्रतियोगिताको दोस्रो प्रिक्वाटरफाइनलतर्फ जनज्योतिले नवयुवा खेलकुद तथा साँस्कृतिक परिवार, ठुटिपिपललाई टाईब्रेकरमा ४–२ ले हराउँदै क्वाटरफाइनल यात्रा तय गरेको हो ।

त्यसअघि तिलोत्तमा–१४, बागधुरा, देवीनगर स्थित सञ्जिवनी खेलमैदानमा भएको निर्धारित समयको खेल दुवै टोलीले १–१ गोलको बराबरी खेलेका थिए । पेनाल्टी शुटआउटमा भने जनज्योतिले नतिजा आफ्नो पक्षमा पार्न सफल भयो ।

खेलमा जनज्योतिका गोलरक्षक संजय रोका म्यान अफ द म्याच घोषित भए । प्रतियोगिता अन्तरगत माघ १८ गते बुधबारको खेल हिमाल युथ क्लब र लिस्नु युवा क्लबबीच हुने खेल संयोजक खिम थापाले जानकारी दिए ।

सञ्जिवनी युवा क्लब, तिलोत्तमा–१४ बागधुराको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद १,११,१११ रुपैयाँ हात पार्नेछ भने उपविजेताले ५५,५५५ रुपैयाँ प्राप्त गर्ने आयोजक क्लबका अध्यक्ष अर्जुन केसीले जानकारी दिए ।

त्यस्तै व्यक्तिगत विधातर्फ पनि उचित पुरस्कारको व्यवस्था गरिएको आर्थिक संयोजक इन्द्र छन्त्यालले बताए । कुल १६ टोलीहरुको सहभागिता रहेको प्रतियोगिताको फाइनल खेल आउँदो फागुन २ गतेका दिन हुनेछ ।

Post Comments