News फ्युजनलाई प्रथम वार्ड अध्यक्ष गोल्डकपको उपाधि
गोलनेपाल

बोक्से । यहाँ सम्पन्न प्रथम वार्ड अध्यक्ष गोल्डकप सेभेन ए साईड खुला फुटबल प्रतियोगिताको उपाधि फ्युजन फुटबल क्लब, उदयपुरले जितेको छ । फाइनलमा गाईघाट एफसीलाई टाईब्रेकरमा ५–३ ले हराउँदै फ्युजनले उपाधि जित्न सफल भएको हो ।

त्यसअघि निर्धारित समयको प्रतिस्पर्धात्मक खेल दुवै टोलीले १–१ गोलको बराबरी खेलेका थिए । निर्धारित समयतर्फ फ्युजनका लागि सुनिल खड्काले गोल गरेका थिए भने गाईघाटका लागि पबिन राईले गोल गरेका थिए । टाईब्रेकरमा भने फ्युजनले नतिजा आफ्नो पक्षमा पार्न सफल भयो ।

विजेता बनेको फ्युजनले उपाधिसहित नगद १ लाख हात पार्यो भने उपविजेता गाईघाटले ५० हजारसहित ट्रफी, मेडल र प्रमाणपत्रमा चित्त बुझाउन बाध्य बन्यो ।

त्यस्तै व्यक्तिगत विधातर्फ उत्कृष्ट गोलरक्षक फ्युजनका प्रमिजय गच्छदार बने । उत्कृष्ट डिफेन्डर पनि फ्युजन कै टिप्सन राई चुनिदा उत्कृष्ट मिडफिल्डर गाईघाटका अन्जन हमाल घोषित भए । उत्कृष्ट प्रशिक्षक फ्युजन कै हेम राई बन्दा उदीयमान खेलाडी पनि फ्युजनका साईसन राई घोषित भए । उत्कृष्ट सबैले जनही २५–२५ सय र ट्रफी हात पारे ।

त्यस्तै सर्वाधिक गोलकर्ताको पुरस्कार भने फ्युजनका सुनिल खड्का र गोलबजारका बिनु आले मगरले संयुक्त रुपमा हात पारे । त्यसवापत दुवैले जनही १५–१५ सय प्राप्त गरे । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी फ्युजनका दिपक मगर घोषित भए । त्यसवापत उनले नगद ४ हजार र ट्रफी हात पारे ।

वार्ड युवा तथा खेलकुद विकास समिति, त्रियुगा नगरपालिका–१०, बोक्सेको आयोजनामा भएको प्रतियोगितामा कुल ८ टोलीहरुले सहभागिता जनाएको आयोजकले जानकारी दियो ।

Post Comments