News राईजिङ्ग स्टारलाई तेस्रो सुस्ता अध्यक्ष कपको उपाधि
सुरज राना मगर

नरसही । फराकिलो जितका साथ तेस्रो सुस्ता अध्यक्ष कप खुला नकआउट फुटबल प्रतियोगिताको उपाधि राईजिङ्ग स्टार, भूमहीले जितेको छ ।

शनिबार सम्पन्न उपाधि भिडन्तमा आयोजक सुस्ता–११ लाई शून्यका विरुद्ध ६ गोलको फराकिलो अन्तरले हराउँदै राईजिङ्ग च्याम्पियन बनेको हो ।

सुस्ता–४, नरसही स्थित स्थानीय खेलमैदानमा सम्पन्न एकपक्षीय खेलमा राईजिङ्गका लागि लक्ष्मण रुचालले दुई गोल गरे । त्यस्तै बिनोद भट्टराई, अनोज भण्डारी, कृपा चौधरी र हिमाल थापाले एक–एक गोल गरे ।

फाइनल खेलको म्यान अफ द म्याच राईजिङ्गका हिमाल थापा घोषित भए । विजेता बनेको राईजिङ्गले उपाधिसहित नगद १ लाख ५१ हजार हात पार्यो भने उपविजेता सुस्ताले १ लाख १ हजारमा चित्त बुझायो ।

व्यक्तिगत विधातर्फ आयोजक सुस्ताका गोलरक्षक टेक बहादुर मुखिया प्रतियोगिता कै सर्वोत्कृष्ट खेलाडी चुनिए । सर्वाधिक गोलकर्ता सुस्ता कै ज्याक गुराउ घोषित भए भने उत्कृष्ट गोलरक्षक राईजिङ्गका राजाबाबु थापा चुनिए । उत्कृष्ट बनेका सबैले जनही ५–५ हजारसहित ट्रफी हात पारे ।

विजयी खेलाडीहरुलाई समापन कार्यक्रमका प्रमुख अतिथी लुम्बिनी सभा सदस्य देव करण कलवार, सुस्ता गाउँपालिकाका अध्यक्ष टेक नारायण उपाध्याय, सुस्ता–४ का वार्ड अध्यक्ष निल बहादुर गुरुङ्ग, नवलपरासी जिल्ला फुटबल संघका अध्यक्ष धनप्रसाद गुरुङ्ग लगायतका अतिथीहरुले पुरस्कृत गरेका थिए ।

सुस्ता गाउँपालिका, नवलपरासीको आयोजना तथा सुस्ता–४ को वार्ड कार्यालय, नरसहीको व्यवस्थापनमा माघ १० गतेदेखि शुरु प्रतियोगितामा कुल १२ टोलीहरुले सहभागिता जनाएको खेल संयोजक समराज गुरुङ्गले बताए ।

Post Comments