News मल्टिभिजनलाई फुटसल उपाधि
गोलनेपाल

हेटौडा । मकवानपुर जिल्लास्तरीय फुटसल प्रतियोगिताको उपाधि एफसी मल्टिभिजनले जितेको छ । फाइनल खेलमा वाइबा युनाइटेड पदमपोखरीलाई ५–१ गोलअन्तरले हराउँदै मल्टिभिजन विजेता बनेको हो ।

विजय यूथ क्लब हेटौंडाको आयोजनामा हेटौंडा–४ स्थित फुटसल सेन्टरमा भएको उपाधि भिडन्तमा मल्टिभिजनका लागि सुमन आले मगरले दुई गोल गर्दा रोहन बल लामा, विश्व लामा र रफी महर्जनले एक–एक गोलको योगदान दिए । उता पराजित पदमपोखरीको तर्फबाट भने एक मात्र गोल सन्देश थापा क्षेत्रीले गरे ।

प्रतियोगिताको विजेता मल्टिभिजनले उपाधि सहित नगद एक लाख रुपैया“ हात पार्यो भने उपविजेता पदमपोखरीले ५० हजारमा चित्त बुझाउन बाध्य भयो । प्रतियोगिता अवधिभर १२ गोल गरेका विजयी टोली मल्टिभिजनका मनोज लामा उत्कृष्ट खेलाडी र अनिष महर्जन उत्कृष्ट गोलरक्षक घोषित भए । उनीहरुले नगद ३ हजार रुपैयाँसहित ट्रफी हात पारे ।

नकआउटका आधारमा खेलाइएको प्रतियोगितामा जिल्लाका कुल २० टोलीहरुको सहभागिता रहेको थियो । विजयी खेलाडीहरुलाई हेटौंडा उपमहानगरपालिका वडा नम्बर ६ का अध्यक्ष अर्जुन चौलागाईं, वडा सदस्य राजकुमार बास्तोला, जिल्ला युवा समिति अध्यक्ष सन्तोष चौलागाईं, मकवानपुर जिल्ला खेलकुद विकास समितिका कार्यालय प्रमुख राजन दाहाल खुसराज, जिल्ला फुटबल संघ मकवानपुर अध्यक्ष टीकाराम लामा, आयोजक विजय यूथका अध्यक्ष सुदीप राजबाहकलगायतले पुरस्कृत गरेका थिए ।

आयोजक क्लबका अध्यक्ष सुदिप राजबाहकको अध्यक्षतामा सम्पन्न भएको प्रतियोगितालाई आगामी बर्षहरुमा पनि निरन्तरता दिने योजना रहेको प्रतियोगिता संयोजक एवम् आयोजक क्लवका सचिव राजेश भेटवालले बताए ।

Post Comments