News सहज जितका साथ वार्ड नम्बर १२ क्वाटरफाइनलमा
गोलनेपाल

दुहबी । सहज जित हात पार्दै वार्ड नम्बर १२ जारी पाँचौं दुहबी मेयर कप वार्डस्तरीय नकआउट फुटबल प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गरेको छ । दोस्रो प्रिक्वाटरफाइनलतर्फ वार्ड नम्बर १२ ले वार्ड नम्बर ९ माथि शून्यका विरुद्ध ३ गोलको प्रभावशाली जित हात पार्यो ।

दुहबी ५ स्थित श्री सरस्वती माविको खेलमैदानमा भएको खेलमा वार्ड नम्बर १२ का लागि महानन्द राजवंशी, अजय कुमार चौधरी र नगेन्द्र चौधरीले गोल गरे । खेलमा वार्ड नम्बर १२ कै सुगम श्रेष्ठ म्यान अफ द म्याच घोषित भए । उनले पुरस्कार वापत नगद २ हजार र मेडल हात पारे ।

प्रतियोगिता अन्तरगत फागुन ३ गते बुधबारको तेस्रो प्रिक्वाटरफाइनल खेल वार्ड नम्बर ५ र ८ बीच हुने आयोजकले जानकारी दियो ।

दुहबी नगरपालिकाको आयोजना तथा इलेभन एरोज क्लब, दुहबी, सुनसरीको संयोजनमा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद १,२५,२२२ रुपैयाँ हात पार्नेछ भने उपविजेताले ७५,२२२ रुपैयाँ प्राप्त गर्नेछ । फाइनल खेल यही फागुन १२ गतेका दिन हुनेछ ।

Post Comments