News अनिताको टोली सेथु सेमिफाइनलमा
गोलनेपाल

काठमाडौं । डिफेन्डिङ च्याम्पियन सेथु एफसी हिरो इण्डियन वुमन लिगको सेमिफाइनलमा प्रवेश गरेको छ । बिहीबार भएको समुह ए तर्फको अन्तिम खेलमा सेथुले बरोदा फुटबल एकेडेमीलाई ६–० को फराकिलो अन्तरले हराउँदै सेमिफाइनल यात्रा पक्का गर्यो ।

बैंगलोर फुटबल स्टेडियममा भएको खेलमा सेथुका लागि सन्ध्याले चार गोल गरिन् भने अम्सावली र कार्तिकाले एक–एक गोल गरिन् । बिहीबारको यो नतिजापछि ५ खेलबाट १२ अंक जोडेको सेथु समूह ए को दोस्रो स्थानमा रह्यो । १५ अंक जोडेको क्रिप्सा शिर्ष स्थानमा रहँदै अन्तिम चारमा यसअघि नै पुगिसकेको थियो ।

स्मरण रहोस, समूह चरणतर्फ सेथुले क्रिप्सासँग मात्र एक खेलमा हार बेहोरेको थियो । बिहीबारको खेलमा नेपालकी स्टार मिडफिल्डर अनिता बस्नेतलाई भने सेथुले मैदानमा उतारेको थिएन । त्यस्तै पराजित बरोदा भने ३ अंकका साथ पाँचौं स्थानमा रह्यो ।

के्रक्रे पनि सेमिफाइनलमा

त्यस्तै उता समूह बी बाट गोकुलम केरला एफसीसँगै केंक्रे पनि सेमिफाइनलमा प्रवेश गरेको छ । समूह चरणको आफ्नो अन्तिम खेलमा केंक्रेले बिहीबार बैंगलोर युनाइटेड एफसीलाई २–१ ले हरायो ।

बिहीबारको जितपछि ५ खेलबाट १२ अंक जोडेको केंक्रे दोस्रो स्थानमा छ । उता एक खेल कम खेलेको गोकुलम केरला १२ अंकका साथ शिर्ष स्थानमा छ र यसअघि नै सेमिफाइनलमा प्रवेश गरिसकेको छ ।

नेपालकी राष्ट्रिय फरवार्ड साबित्रा भण्डारी केरलाबाट नै खेलिरहेकी छिन् । र, हालसम्म उनले चार खेलमा कुल १५ गोल गरिसकेकी छिन् ।

Post Comments