News सहज जितका साथ वार्ड नम्बर ६ दुहबी मेयर कपको सेमिफाइनलमा
गोलनेपाल

दुहबी । सहज र उत्कृष्ट जित हात पार्दै वार्ड नम्बर ६ जारी पाँचौं दुहबी मेयर कप वार्डस्तरीय नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । सोमबार भएको अन्तिम क्वाटरफाइनलमा वार्ड नम्बर ६ ले वार्ड नम्बर २ लाई शून्यका विरुद्ध ४ गोलले हराउँदै सेमिफाइनलमा प्रवेश गरेको हो ।

श्री सरस्वती माविको खेलमैदानमा भएको खेलमा वार्ड नम्बर ६ का लागि २४औं मिनटमा सन्देश साम्बाप्पेले पेनाल्टीबाट पहिलो गोल गरे । ३५औं मिनटमा अलाउद्दिन मियाले त्यो अग्रता दोब्बर पारे । त्यस्तै ७८औं मिनटमा अजय गोश्वामीले तेस्रो गोल गर्दै इन्जुरी समयमा जितेन्द्र कुमार चौधरीले चौथो गोल गर्दै टोलीको जित पक्का गरे ।

खेलमा वार्ड नम्बर ६ का मनिष कुमार बिक म्यान अफ द म्याच घोषित भए । उनलाई खेलका विशिष्ठ अतिथीद्वय दुहबी नगरपालिकाका शिक्षा शाखा प्रमुख निलमणी खनाल, दुहबी नगरपालिका वार्ड नम्बर ६ का अध्यक्ष घनश्याम हलुवाईले नगद २ हजार र मेडलसहित पुरस्कृत गरे ।

प्रतियोगिता अन्तरगत फागुन ९ गते मंगलबारको पहिलो सेमिफाइनल खेल वार्ड नम्बर ८ र १० बीच हुने आयोजकले जानकारी दियो ।

दुहबी नगरपालिकाको आयोजना तथा इलेभन एरोज क्लब, दुहबी, सुनसरीको संयोजनमा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद १,२५,२२२ रुपैयाँ हात पार्नेछ भने उपविजेताले ७५,१२२ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । फाइनल खेल यही फागुन १२ गतेका दिन हुनेछ ।

Post Comments