News केपी एफसी सेमिफाइनलमा
गोलनेपाल

काठमाडौं । आयोजक टोली केपी एफसी यहाँ जारी प्रथम केपी ओली कप राष्ट्रिय नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गर्ने अन्तिम टोली बनेको छ । शनिबार सम्पन्न चौथो क्वाटरफाइनलमा जावलाखेल युथ क्लबलाई टाईब्रेकरमा ५–४ ले हराउँदै केपी एफसी अन्तिम चारमा प्रवेश गरेको हो ।

त्यसअघि सातदोबाटो स्थित एन्फा कम्प्लेक्स्मा सम्पन्न निर्धारित समयको प्रतिस्पर्धात्मक खेल दुवै टोलीले १–१ गोलको बराबरी खेलेका थिए । खेलको ४२औं मिनटमा राहुलको गोलबाट अग्रता बनाएको टजावलाखेलले त्यसलाई दोस्रो हाफमा गुमाउन पुग्यो । ६९औं मिनटमा अजयी मार्टिन्सले केपी एफसीका लागि गोल गर्दै खेललाई रोमाञ्चक बराबरीमा ल्याएका थिए ।

टाईब्रेकरमा भने केपी एफसीले नतिजा आफ्नो पक्षमा पार्यो । खेलमा केपी एफसीका गोलरक्षक पुर्ण चेम्जोङ म्यान अफ द म्याच घोषित भए । उनले पुरस्कार वापत नगद २५ हजार हात पारे ।

केपी एफसीले दोस्रो सेमिफाइनलतर्फ फागुन १५ गतेका दिन मच्छिन्द्र फुटबल क्लबसँग खेल्नेछ । प्रतियोगिता अन्तरगत फागुन १४ गते आइतबारको पहिलो सेमिफाइनल खेल सातदोबाटो युथ क्लब र त्रिभुवन आर्मी फुटबल क्लबबीच हुने आयोजकले जानकारी दियो ।

राष्ट्रिय युवा संघ नेपालको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद १० लाख हात पार्नेछ भने उपविजेताले ५ लाख प्राप्त गर्नेछ । फाइनल खेल यही फागुन १७ गतेका दिन हुनेछ ।

Post Comments