News धरानमा फर्कियो बुढासुब्बा गोल्डकप
गोलनेपाल

धरान । मोफसल कै पुरानो र प्रतिष्ठित मध्ये एक बुढासुब्बा गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण फुटबल प्रतियोगिताको २३औं संस्करण शनिबारदेखि शुरु भएको छ । केही वषृ कोरोना महामारीका कारण रोकिएको धराने फुटबलको प्रतिष्ठा बुढासुब्बा गोल्डकपले फेरि निरन्तरता पाउँदा यसले धरानमा मात्र नभएर नेपाली फुटबललाई पछ्याईरहेका धेरैमा उत्साह थप्ने काम गर्यो ।

पूर्वेली फुटबलमा एउटा उर्बर भूमिका रुपमा चिनिएको धरानमा बुढासुब्बा गोल्डकपको छुटै पहिचान पनि छ । धरानै फुटसलको एउटा विरासत धान्ने काम पनि यो प्रतियोगिताले गर्दै आएको आयोजक धरान फुटबल क्लबका अध्यक्ष किशोर राई बताउँछन् । ‘यो धरानको मात्र नभएर समग्र नेपाली फुटबलको प्रतिष्ठा हो । अनि यो हाम्रा लागि धराने फुटबलको विरासत पनि हो ।’ अध्यक्ष राई भन्छन् ।

धरान–१६ स्थित धरान रंगशालामा शुरु भएको प्रतियोगितामा यसपटक कुल ८ टोलीहरु सहभागि छन् । प्रतियोगिताको उद्घाटन खेलमा युके एफसी, भारतले आयोजक धरान एफसीलाई टाईब्रेकरमा ५–३ ले हराउँदै विजयी शुरुवात गर्यो । खेलमा युके एफसीका गोलरक्षक मनोज प्रधान म्यान अफ द म्याच चुनिए । उनले पुरस्कार वापत नगद १० हजार र ट्रफी हात पारे ।

यो जितसँगै युके एफसी प्रतियोगिताको सेमिफाइनलमा समेत प्रवेश गर्न सफल भयो । फागुन १४ गतेको दोस्रो क्वाटरफाइनल खेल बागमती युवा क्लब, सर्लाही र एभनिर एफसी, क्यामरुनबीच हुने आयोजकले जानकारी दियो ।

त्यसअघि प्रतियोगिताको उद्घाटन एक कार्यक्रमका बीच धरानका मेयर हर्क सम्पङ राईले गरे । उनले बुढासुब्बा गोल्डकपले धरानको परिचय र पहिचानलाई देशविदेशमा फरक रुपमा चिनाउन सफल भएकोमा आयोजकलाई बधाई र धन्यवाद पनि दिए ।

प्रतियोगिताको विजेताले उपाधिसहित नगद १० लाख हात पार्नेछ भने उपविजेताले ५ लाख प्राप्त गर्नेछ । फाइनल खेल यही फागुन २० गतेका दिन हुनेछ ।

Post Comments