News मच्छिन्द्र र सातदोबाटो उपाधिका लागि भिड्ने
गोलनेपाल

काठमाडौं । केपी ओली कप राष्ट्रिय खुला नकआउट फुटबल प्रतियोगिताको फाइनलमा लिग च्याम्पियन मच्छिन्द्र फुटबल क्लब र सातदोबाटो युथ क्लब भिड्ने भएका छन् । सोमबार भएका दुई सेमिफाइनलतर्फ आ–आफ्नो खेलहरुमा जित निकाल्दै सातदोबाटो र मच्छिन्द्रले फाइनल भेट पक्का गरेका हुन् ।

सातदोबाटो स्थित एन्फा कम्प्लेक्समा भएको सेमिफाइनल भिडनततर्फ मच्छिन्द्रले आयोजक केपी एफसीलाई शून्यका विरुद्ध १ गोलको झिनो अन्तरले हरायो र फाइनल स्थान सुरक्षित गर्यो । मच्छिन्द्रका लागि १९औं मिनटमा बिमल घर्ती मगरले गरेको एक मात्र गोल निर्णायक बन्यो ।

त्यस्तै आइतबार खराब मौसमका कारण रोकिएको पहिलो सेमिफाइनल खेल पनि सोमबार बिहान खेलाइएको थियो । जुन खेलमा सातदोबाटोले दावेदार मानिएको त्रिभुवन आर्मी फुटबल क्लबलाई सडन डेथमा ६–५ ले हराउँदै फाइनलमा स्थान सुरक्षित गरेको थियो । खेलमा सातदोबाटोका गोलरक्षक अभिषेक बराल म्यान अफ द म्याच चुनिए ।

राष्ट्रिय युवा संघ नेपालको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद १० लाख हात पार्नेछ भने उपविजेताले ५ लाख प्राप्त गर्नेछ ।फाइनल खेल बुधबार हुनेछ ।

Post Comments