News काकरभिट्टा बुढासुब्बा गोल्डकपको अन्तिम चारमा
गोलनेपाल

धरान । काकरभिट्टा फुटबल ट्रेनिङ्ग सेन्टर यहाँ जारी प्रतिष्ठित २३औं बुढासुब्बा गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । सोमबार भएको तेस्रो क्वाटरफाइनलतर्फ काकरभिट्टाले नेपाल पुलिस क्लबमाथि २–० को जित निकाल्दै अन्तिम चारमा प्रवेश गरेको हो ।

धरान रंगशालामा भएको खेलमा काकरभिट्टाका लागि दुवै गोल निशान लिम्बुले गोल गरे । लिम्बु नै खेलको म्यान अफ द म्याच पनि चुनिए । उनले पुरस्कार वापत नगद १० हजार र ट्रफी हात पारे । काकरभिट्टाले पहिलो सेमिफाइनलतर्फ फागुन १७ गते बुधबारका दिन युकेएफसी, भारतसँग प्रतिस्पर्धा गर्नेछ ।

प्रतियोगिता अन्तरगत फागुन १६ गते मंगलबारको अन्तिम क्वाटरफाइनल खेल एन्फा, मोरङ्ग र कावरन बजार प्रगति संघ, बंगलादेशबीच हुने आयोजकले जानकारी दियो ।

धरान फुटबल क्लब, सुनसरीको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद १० लाख हात पार्नेछ भने उपविजेताले ५ लाख प्राप्त गर्नेछ । फाइनल खेल यही फागुन २० गतेका दिन हुनेछ ।

Post Comments