News एन्फा मोरङ्ग बुढासुब्बा गोल्डकपको अन्तिम चारमा
गोलनेपाल

धरान । एन्फा मोरङ्ग यहाँ जारी २३औं बुढासुब्बा गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गर्ने अन्तिम टोली बनेको छ । मंगलबार भएको चौथो क्वाटरफाइनलमा एन्फा मोरङ्गले कावरन बजार प्रगति संघ, बंगलादेशलाई टाईब्रेकरमा ३–१ ले हराउँदै अन्तिम चारमा प्रवेश गरेको हो ।

धरान रंगशालामा भएको निर्धारित समयको खेल गोलरहित बराबरीमा टुंगिएपछि खेल टाईब्रेकरतर्फ धकेलिएको थियो । टाईब्रेकरमा भने एन्फा मोरङ्गले नतिजा आफ्नो पक्षमा पार्न सफल भयो । टाईब्रेकरमा विपक्षीका तीन पेनाल्टी प्रहार रोकेका एन्फा मोरङ्गका गोलरक्षक प्रमिजय गच्छदार म्यान अफ द म्याच चुनिए । उनले पुरस्कार वापत नगद १० हजार र ट्रफी हात पारे ।

एन्फा मोरङ्गले दोस्रो सेमिफाइनलतर्फ फागुन १८ गतेका दिन एभनिर एफसी, क्यामरुनको सामना गर्नेछ । प्रतियोगिता अन्तरगत फागुन १७ गते बुधबारको पहिलो सेमिफाइनल खेल काकरभिट्टा फुटबल ट्रेनिङ्ग सेन्टर र युकेएफसी, दार्जिलिङ्ग (भारत) बीच हुने आयोजकले जानकारी दियो ।

धरान फुटबल क्लब, सुनसरीको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद १० लाख हात पार्नेछ भने उपविजेताले ५ लाख प्राप्त गर्नेछ । फाइनल खेल यही फागुन २० गतेका दिन हुनेछ ।

Post Comments